२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

तरंगित ‘तरङ्ग’को यथार्थ

shivam cement
विपेन आदिमा
२०८२ फागुन ३० गते ०६:१५
Shares
तरंगित ‘तरङ्ग’को यथार्थ

कवि प्रदीपप्रसाद आचार्यको दोस्रो कविता कृति ‘तरङ्ग’ ७० वटा छोटाछोटा कविताहरूको सँगालो हो । शब्दार्थ प्रकाशनले २०८२ पुसमा प्रकाशन गरेको यस कृतिभित्रका कविताका विषयवस्तु देश, राजनीति, सत्ता, समाज, इतिहास, प्रेम, प्रकृति आदि रहेका छन् । यस कविता संग्रहको ‘शाश्वत सत्य’ कवितामा कवि आफू जीवित हुँदा नै आफ्नो मृत्युबोध गर्दै त्यसपछिको परिवेश कस्तो होला भनी विचरण गर्न पुगेका छन् । उनी कविता मार्फत भन्छन्–

न देख्छिन् उनी मलाई त्यहीँ नै
न महसुस गर्छिन् परिवेश उहीँ नै
देख्दै सबै त्यो परिदृश्य साफै
हेरिरहेछु मलामी त आफैँ । (पृ. ११८)

यसरी कविले आफ्नो मृत्युपछिको परिवेशको चित्रण अहिले नै गर्नु भनेको कविको प्रचुर कल्पनाशक्ति र अदम्य कवित्व शक्ति हो । वर्तमान नेपाली समाजव्यवस्था, परिवेशगत चेतनाका दृष्टिकोणबाट हेर्दा, प्रस्तुत ‘तरङ्ग’ कविता संग्रहभित्रका कविताहरूलाई मूलतः आशावादी, तरलता वा अन्योलयुक्त र निराशावादी स्वरलाई प्रवाहित गर्ने कविता गरी तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ ।

आशावादी स्वर

घर, देश बचाउन, सचेत बन फूलहरू, प्रस्तावना, प्रिये, मेरी प्रेयसी, यौवन, सुदृष्टि, सडक बोलिरहेछ, यात्रा, पर्वतारोही, जीवन, होसियार !, अस्तित्व, हाम्रो वर्तमान, इच्छा, कर्तव्य, पौरख, अन्याय विरुद्धको आवाज, दन्दन राजनीति, प्रकृति कन्या गरी २१ वटा कवितामा आशावादी जीवनदृष्टिको आभा देखिन्छ । यीमध्ये सचेत बन फूलहरू, पर्वतारोहीजस्ता कवितालाई त यस संग्रहकै उत्कृष्ट रचना मान्न सकिन्छ । यी कवितामा विगत र वर्तमानको परिवेशलाई तुलना गरी भत्किएका, बिग्रिएका विषयलाई सुधारी थप मजबुत बनाएर लैजान सत्ता र शक्तिको बागडोर सम्हालेर बसेका साथै आमजनसमुदायलाई सचेत गराउँदै विकल्पको बाटोसमेत पहिल्याएको देखिन्छ । कवि नेपालीहरूलाई फूलको उपमा दिँदै सबै फूलहरू आफैं सचेत र जागरुक रहन यसरी आह्वान गर्छन्–

होसियार ! फूलहरू हो होसियार !
यस्ता छद्मभेषीहरूदेखि होसियार !
आफ्नो गौरव
मित्रता र सहिष्णुता
कहिल्यै नभुल । (पृ. ३६)

यहाँ कविले नेपाललाई सुन्दर बगैंचा र प्रत्येक नेपालीलाई बगैंचाका थरीथरी फूलहरूको रूपमा सम्बोधन गर्दै कपटीहरूको कपटपूर्ण व्यवहारबाट होसियार रहन सचेत गराउँछन् । यस कवितामा उनी नेपालीहरूको नेपालीपन, सहिष्णुता, शालीन व्यवहार, मोहक रूप र सौन्दर्य र मौलिकतालाई टुक्रिन नदिई सँगाली राख्नुपर्ने कुरामा जोड दिन्छन् ।

वैचारिक अन्योल तथा तरलता

प्रस्तुत कविता संग्रह आफैंमा सुन्दर हुँदाहुँदै पनि यसभित्रका केही कवितामा वैचारिक स्पष्टता देखिँदैन । कविका कतिपय कवितामा विचार आफैंमा बाझिन्छन् । केही कवितामा कुन विचार र दर्शनलाई अँगालेर अघि बढ्दा सही बाटो र गन्तव्यमा पुग्न सकिन्छ भन्ने विषयमा अलमलिएको देखिन्छ । माता, देश, माटो, आवाज, समयको छाल, नेता के चाहन्छ ?, भोको पेट, १२ वैशाख २०७२, पैसा जीवन, सहारा, छोरी बिदाइ, आस्था, यस्तै छ यहाँ, मोहनी रूप, खोक्रो आश्वासन, मातृभूमि सम्झेर आएँ, अन्जान, कर्म, वास्तविकता, रक्षक, सृष्टि, वेदना, राजनैतिक वास्तविकता, शब्दको बहार, ग्राह आतंक, सौन्दर्य वर्षाजस्ता कविताहरूमा वैचारिक तरलता देखिन्छ ।
कवितामा कवि न भौतिकवादी जीवनदृष्टि अँगाल्न नै सक्छन्, न त विरोध गर्न नै । उनी घरी परिश्रम र कर्म नगरी केही हुँदैन भन्छन् त घरी सबैकुराको निर्धारक भाग्य हो भन्दै भाग्यवादी बन्न पुग्छन् । यस्तै उनी न त शासक वर्गको पक्षमा उभिन सक्छन् न त उत्पीडित वर्गको कोणबाट सौन्दर्य बोध गर्न सक्छन् । जस्तै ः कवि ‘पौरख’ कवितामा पौरखले नै मान्छे महान् हुने ठोकुवा गर्छन् । पौरखले नै देश समृद्ध बनाउने हो भन्छन् । फेरि यता ‘वेदना’ र ‘रक्षक’जस्ता कवितामा आएर ईश्वरलाई पुकार्दै हामी संकटमा पर्नुको कारण हाम्रो पाप हो भन्छन् र भाग्यवादको भर पर्छन् । ‘ग्राह आतंक’ कवितामा नेपाली राजनीतिक आन्दोलनको इतिहासलाई केलाउने प्रयत्न गरिएको छ । २००७ सालदेखि २०८२ सालको जेनजी विद्रोहसम्म आइपुग्दा देशमा समृद्धि आउनुको सट्टा भ्रष्टाचार र ग्राहको चलखेल बढेको र नेताहरूले देश खत्तम पारेको बताउँछन् । उनी कवितामा भन्छन्–

उठ, जाग, जेन–जीहरू
ग्राहहरूको पत्तासाफ गराऊ
नवपुस्ताहरूबाट अब
देशको बागडोर चलाऊ
प्रत्यक्ष सरकार चलाऊ
सांसद संख्या घटाऊ
प्रदेश संरचना खारेज गरी
स्वतस्फूर्त नेपाल बनाऊ । (पृ. १२४)

प्रस्तुत कवितामा कविले २००७, १५, ३६, ४६, ५२–६३÷६३ र ८२ सालको विद्रोहको मर्म बुझेको देखिँदैन । उनी त यी विद्रोहहरूले देश खत्तम भयो भन्ने स्थितिमा पुगेका छन् । के साँच्चै यस्तै हो त ? अवश्य होइन । कविले यत्तिको लेख्न सक्ने हुनुमा ती विद्रोहको भूमिका छैन त ? के १० वर्षे ‘जनयुद्ध’लगायत सबै विद्रोह बेकारका हुन् ? त्यसले नेपाली जनजीवनमा कुनै सकारात्मक प्रभाव पारेन ? यस्तो त पक्कै पनि होइन । कवि जेनजीहरूलाई प्रदेश संरचना खारेज गरे, सांसद संख्या घटाए र प्रत्यक्ष सरकारको व्यवस्था गरे देश स्वतस्फूर्त वा स्वतन्त्र हुने बताउँछन् । यद्यपि यसमा धेरै प्रश्न छन् । वैचारिक अन्योल कवितामा निकै देखिन्छ ।

निराशावादी स्वर

भत्केको स्वप्न, देश मरिसकेको छ, विचित्रको देश, हाम्रो यथार्थ, हाम्रो राजनीति, छद्मभेषी सरकार, देश बोल्छ, दलाली, प्रतिशोध, नेता, नेपाल हाम्रो घर, वर्तमान राजनीति, आक्रोश, बोली, नयाँ बाटो, त्रसित राजनीति, साथ मिलेको पहिचान, एकता, सत्र मोहजस्ता कविता चरम निराशा र नकारात्मकताले भरिएका छन् । यी कवितामा कविको रिस, आवेग, निराशा, कुण्ठा, चिन्ता प्रस्ट रूपमा देख्न सकिन्छ । तर कविता भनेको रिस, आवेग, निराशा, कुण्ठा, चिन्ता आदि मात्रै हो र ? किन कविले यसबाट माथि उठेर चिन्तन गर्दै चैतन्यको यात्रा तय गर्न सकेका छैनन् ?

कवि नेताले देश बिगारे, पहिला सबै राम्रो थिया,े अहिले खत्तम पारे भनी सबै बिग्रेको, भत्किएको र नासिएको मात्रै देख्छन् । यो उनको व्यक्तिगत दृष्टिकोण हो र त्यो उच्च मध्यमवर्गीय छ । उच्च मध्यमवर्गीय आँखाबाट हेर्दा सुन्दर, शान्त र सबै मिलेर बसेको नेपाल अहिले भताभुंग, लथालिंग भएको देखिएला, तर सर्वहारा वर्गको दृष्टिकोणबाट नि त्यस्तै देखिन्छ त ? त्यसो त अवश्य होइन ।

यो देशको निर्माता कुनै नेता, राजा, महाराजा नभई सर्वहारा तथा श्रमजीवी वर्ग नै हुन् । तसर्थ ‘नेता’ शीर्षकको कवितामा भनिएजस्तो कुनै नेता वा सत्तासीन व्यक्ति आएर देश कायापलट गरिदेला भनेर त्यस्तो नेताको आस गर्नु नै बेकार छ । केही नेता, कार्यकर्ता र जनतासमेत त्यसमा लागेका होलान्, तर सारा उत्पीडनबाट मुक्ति चाहने सच्चा देशभक्त नागरिक मरिसकेका छैनन् । उत्पीडित वर्ग न्याय र मुक्तिका लागि लड्न हरदम तयार छ । यिनीहरूले नै यो देशको रक्षा गर्छन् । कविले यस पक्षमा ध्यान कम दिएका हुन् कि ? केही भएन भनेर कुण्ठा र नैराश्य मात्रै व्यक्त गर्नुभन्दा भएका राम्रा कुरालाई प्रोत्साहन गर्दै नपुगेका कुरा पु¥याउन भूमिका खेल्नु कविको धर्म होइन र ?

निराशा र नकारात्मकताले भरिएका कवितामध्ये एउटा कविता हो ‘नेपाल हाम्रो घर’ । यो कविताको शीर्षक जति सुन्दर छ नि ! यसको वैचारिक पक्ष त्यतिकै नकारात्मक छ । जस्तै :

लोकतन्त्रको आवागमनले
राजनैतिक वितण्डा ल्यायो
जाति, भाषा, धर्म, संस्कृतिमा
एकताबीच अनेकता छायो
एकआपसमा फुट र कलह गरायो
मित्रता र सौहार्दताबीच द्वेष बढायो
नेपाल र नेपालीको अस्तित्वमाथि
प्रश्न उठायो । (पृ. ६७)

यस कवितांशमा कवि उच्चवर्गीय विचारधाराबाट यो समाजव्यवस्थालाई हेर्छन् भन्ने प्रस्ट हुन्छ । उनले भनेजस्तै नेपालका सबै जातजाति र भाषाभाषीबीच आपसमा एकता थियो त ? यदि एकता र समानता हुन्थ्यो भने हिन्दु समाजव्यवस्थामा जातकै आधारमा मान्छेलाई पशुझैं व्यवहार किन गरिएको हो र अझै गरिन्छ ? खस नेपाली भाषाबाहेक अरू भाषा बोल्नेलाई भाषाको दर्जा नै नदिई अन्य कुरा (तामाङ कुरा, नेवार कुरा) भनी खिसिट्युरी गरिएको होइन र ? अहिले उत्पीडित वर्गले आफूलाई चोट लाग्दा कमसे कम ऐया ! मलाई दुख्यो भन्न त सक्ने भएका छन् । यसलाई समाज भाँडिएको भन्न मिल्दैन । नेपालको अस्तित्वमाथि विदेशीको प्रहार हिजो पनि थियो र आज पनि छ । त्यसको विरुद्ध सचेत प्रयत्नका साथ संघर्ष गर्नुको विकल्प छैन ।

कविता आफैंमा उन्नत सुन्दर साहित्य हो । यो सुन्दर तबसम्म हुन्छ जबसम्म उन्नत साहित्यमार्फत असल विचार प्रस्तुत गरिन्छ । यदि उन्नत साहित्यमार्फत खराब कुरा भनियो भने यो अत्यन्त हानिकारक हुन्छ । यस कृतिको राजनीतिक विषय प्रस्तुत गरिएका अधिकांश कवितामा नेपालका नेता भ्रष्ट र अत्यन्तै खराब भएर देश बिग्रेको हो भन्ने विचार आएका छन् ।

बाल्यकालदेखि नै देशको शान्त, समृद्ध, एकता र हराभरा समतामूलक समाजको सपना बोकेर जीवनको ६९औं वसन्त पार गर्न लाग्दासमेत यसको कुनै एउटा झिल्कोसम्म देख्न नसक्दा एउटा कविहृदयमा गहिरो चोट पर्नु स्वाभाविक नै हो । हजारौं निराशालाई चिर्न एउटै आशा काफी हुन्छ । त्यसैको प्रतिफल यो कृति जन्मिएको छ । तपाईंका कविताहरू समस्या, चिन्ता, नैराश्य, पीडा, कुण्ठा र गुनासाहरूलाई पोख्ने मात्र नभई चिन्तन हुँदै चैतन्यसम्म पुग्न सकून् । नयाँ परिवर्तनको पथप्रदर्शन गर्न सकून् । कविज्यूलाई मेरो हार्दिक शुभकामना !

सम्बन्धित खबर