
‘पार्श्वध्वनि’ मेरो हातमा राखिसकेपछि ‘पढेर लागेको कुरा लेख्नु है’ भन्ने रेशम विरही सरको आग्रह थियो । पुस २ गते अचानक काठमाडौंको भृकुटीमण्डप नजिकै भेटिनुभएका विरहीको पुस्तक ‘पार्श्वध्वनि’ अघिल्लो दिन मात्र विमोचन भएको थियो । ‘दुई विपरीत राजनीतिक विचार बोकेकाहरूबीचको प्रेमका विषयमा लेखिएको उपन्यास हो’, विरही सरले पुस्तक दिने बेलामा केही हिन्ट दिनुभयो । उपन्यास पढ्न सुरु गर्दै गर्दा आएका पात्रहरू अविनाश र कान्तिका नै यसका मुख्य पात्र भएको अनुमान गर्न सकिन्छ ।
नेपाली साहित्यमा उच्चतम कोटीका लेखक विरहीको पुस्तकका बारेमा लेख्ने दुस्साहस गर्न त म सक्दिनँ । किनकि मेरो त्यो उचाईको चेत र ज्ञान छैन । तर ‘केही लेख्नु है’ भन्ने उहाँको आग्रहलाई पनि म नकार्न सक्दिनँ । त्यसैले उपन्यासभित्र भएको साहित्यिक रस, कला, उहाँको राजनीति, इतिहासप्रतिको चेत र समाजलाई बुझाउन खोजेको सन्देशका बारेमा टिप्पणी गर्दिनँ, किनकि उपन्यास पढिसकेपछि साहित्यको रसमा भिजेका पारखीहरूले त्यसबारे टिप्पणी गर्नुहोला । तर यो उपन्यास पढिरहँदा मेरो मनमा उठेका केही भाव भने व्यक्त गर्न चाहन्छु ।
जब मैले उपन्यास पढ्न सुरु गरें पहिलो अनुच्छेदमा पुस्तकको सार थियो । त्यसले भन्न खोजेको कुरा बुझ्न उपन्यास पुरै पढिसकेर फेरि दोहोर्याएँ । उपन्यासको प्रथम भाग जहाँ जयदेव र भानुदेवको भेट पछिको आख्यान छ त्यो पढ्दै जाँदा मलाई यो किताबले बाँध्दैन कि भन्ने भ्रम पैदा भयो । किनकि त्यहाँ उल्लेख भएका प्राकृतिक सुन्दरताको वर्णन, दुई पात्र (गुरु चेला) बीचको संवादमा अलि बढी साहित्य र क्लिस्ट शब्द प्रयोग भएको पाएँ । उनीहरूबीच अबको मुख्य पात्र अविनाशलाई जोड्ने कडिका रूपमा ज्ञान र त्यागका विषयमा विचार विमर्श हुन्छ ।
जब उपन्यास मुख्य पात्रहरूको चरित्रमा प्रवेश गर्छ त्यसपछि भने पुस्तक छोड्न मन लाग्दैन । कुनै रहस्यमयी फिल्मको कथा जस्तै अघि बढ्छ । त्यसैले यो उपन्यास मैले एकै बसाईमा पढेर सकें । जब लेखक विरही सरले स्वीकार गरेको मुख्य पात्र कान्तिका र अविनाश जो विपरीत राजनीतिक चेत भएका हुन्छन् । जब उनीहरूबीचको कथा पढ्दै जान्छु त्यतिबेला मेरो मानसपटलमा त्योसँग मिल्दा जुल्दा केही वास्तविक घटनाक्रमको स्मरण दोहोरिन्छन् । यो उपन्यासको मर्म बुझ्न भर्खर पञ्चायतको पतन भएर बहुदलीय व्यवस्था आउँदाको राजनीतिक बातावरणमा पुग्नुपर्ने हुन्छ । यो उपन्यासमा व्याख्या गरेजस्तै कथाका पात्रहरू २०४७/०४८ सालतिर सजिव भेटिन्थे । त्यतिबेलाका वास्तविक पात्र मेरो स्मरणमा दौडिरहे । मलाई लाग्यो म त्यही पात्रहरूलाई उपन्यासमार्फत अहिले पढिरहेको छु ।
त्यतिबेला मेरो उमेर सानै भएपनि म हुर्किरहेको घरमा राजनीतिक वातावरण भएका कारण सानै उमेरदेखि ममा राजनीतिक चेत थियो । समाज त्यतिबेला खासगरी कम्युनिष्ट र कांग्रेस विचारधारा मान्ने समूहमा विभक्त भएको थियो । त्यसबीचमा मण्डलेहरूले खेल्थे । कम्युनिष्ट विचारधारा बोक्नेलाई कांग्रेस र मण्डलेहरूले अनेक आरोप लगाउने र कांग्रेसको राजनीतिक विचार बोक्नेलाई कम्युनिष्ट हुँ भन्ने र मण्डलेहरूले अनेक आरोप लगाउने गर्थे । त्यसमध्ये कम्युनिष्टलाई लगाउने सबैभन्दा ठुलो आरोप भनेको ‘कम्युनिष्टहरूले ६० वर्ष उमेर पुगेकाहरूलाई गोली हानेर मारिदिन्छन्’ भन्ने थियो । त्यसबाहेक कम्युनिष्टहरूले धर्म र संस्कार केही मान्दैनन् भनेर आरोप लगाइन्थ्यो । यही आरोप चिर्न त्यतिबेलाको स्थानीय निकायको निर्वाचनमा मेरो मामाघरको हजुरबुबा ओमप्रकाश ज्ञवाली जो उमेरले ६० नाघ्नु भएको थियो अनि ब्राह्मण र वैष्णव सम्प्रदायको हुनुहुन्थ्यो उहाँलाई तत्कालीन तुलसी भञ्ज्याङ गाविस वडा नं. ५ मा वडा अध्यक्षको रूपमा उम्मेदवार बनाइएको थियो । उहाँको चुनाव प्रचार गर्न म पनि मामा, माइजु र सानिमाहरूसँग जाने गर्थें । नमुना मतपत्र र छाप लिएर हजुरबुबाका लागि भोट माग्दै र गाउँका महिलाहरूलाई भोट हाल्ने तरिका सिकाउन गाउँ, टोलमा परिचालित भएको अझै मलाई सम्झना छ । कम्युनिष्टहरूप्रति लगाइएका ति सब भ्रमलाई चिर्दै हजुरबुबा वडाध्यक्षमा विजयी हुनुभएको थियो ।
कम्युनिष्ट नेता मदन भण्डारीको भाषणले मलाई खुबै तान्थ्यो । म ११ वर्षको हुुँदा एकपटक मदन भण्डारीको भाषण सुन्न स्याङ्जाको जिमुहा भन्ने स्थानबाट गल्याङ बजारसम्म हिँडेर पुगेको सम्झना छ । तत्कालीन संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट लक्ष्मी कार्की उम्मेदवार बनेकी थिइन् । उनका लागि भोट माग्न र चुनाव प्रचारका लागि आयोजना गरिएका आमसभामा सांस्कृतिक टोलीले मलाई लिएर गएको अझै याद छ । त्यसैले पनि त्यतिबेलाको राजनीतिक वातावरण मेरो बालमस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । यो उपन्यास पढिरहँदा मैले त्यो बेला राजनैतिक कारणले पारिवारिक विग्रह भोगेका पात्रहरू र उनीहरूको जिवनमा घटेका घटनाहरू ताजा भएर आए । मैले तत्कालीन तुलसी भञ्ज्याङ गाविस वडा नं. ५ जिमुहाकी एक महिलालाई सम्झिएँ । उनको त्यतिबेला भर्खर विवाह भएको थियो । कम्युनिष्ट परिवारमा जन्मिएकी उनको विवाह भने कांग्रेस परिवारमा भयो । विवाहपछि उनको परिवारमा राजनीतिक द्वन्द्व यति बढ्यो की उनको पारिवारिक सम्बन्ध नै बिग्रियो । उनका श्रीमानले अर्को विवाह गरे । नवविवाहित जोडीहरूमा पनि माया प्रेम र पारिवारिक जिम्मेवारीका विषय भन्दा राजनीतिक चर्चा बढी हुने गर्थे । मेरो आफ्नै दुई सानिमाहरूको पनि फरक राजनीतिक विचार बोकेका परिवारमा विवाह भएको थियो । तर उहाँहरूले राजनीतिक विचार र परिवारलाई सन्तुलनमा राख्नुभयो । एउटा सानिमा राजनीतिक रूपमा निष्क्रिय हुनुहुन्छ भने एउटा सानिमा राजनीतिक विचार परिवर्तन गरेर स्थानीय राजनीतिमा सक्रिय हुनुहुन्छ ।
जसरी वास्तविक घटनाक्रमहरूमा राजनीतिले महिलालाई बढी प्रभाव पारेको थियो, यो उपन्यासमा पनि अप्रत्यक्ष रूपमा राजनीतिका कारण महिला नै बढी प्रभावित भएको पढ्न सकिन्छ । चाहे ति कान्तिका हुन्, बुधरामकी पत्नी सुन्तली घर्तिनी, बुधरामकी छोरी मालती, मालतिको छोरी स्वप्निका, होटल सञ्चालन गर्ने राममाया, नारायण बाजेकी पत्नी र उनकी छोरी, प्रभाकरको श्रीमती चम्पा । प्रमुख पात्रका रूपमा नहेरिने महिलाहरू नै राजनीतिबाट सबैभन्दा बढी प्रभावित देखिन्छन् ।
समग्रमा भन्नुपर्दा यो उपन्यास त्याग, समर्पण, रहस्यले भरिएको एक राजनीतिक उपन्यास हो । उपन्यासमा पात्रहरू अलि धेरै छन् । पात्रका नामहरूमा अलमल पर्दा केही पाना फेरि दोहोर्याएर पढ्नुपर्ने समेत हुनसक्छ । केही पात्रका नामहरू अहिलेका कम्युनिष्ट र भूमिगत नेताको नामसँग मिल्दो जुल्दो भएका कारण ति पात्र र कथा सजिव झैं लाग्दछन् ।
राजनीतिक आन्दोलनमा आफ्ना पति गुमाएकी चम्पा पात्रको कथा भने अलि अपुरो हो अथवा लेखकले उसको कथालाई प्राथमिकता नदिएको हो कि जस्तो लाग्यो । मेरो दृष्टिकोणमा सबैभन्दा बढी प्रभावित पात्र कोही हो भने चम्पा हो । गर्भिणी अवस्थाकी चम्पालाई उसका नवविवाहित पतिले एक्लै छोडेर हिँडेपछि उसका संघर्षको छुट्टै कथा समेत बन्न सक्छ । उपन्यासमा चितवन र नारायणी नदी आसपासको क्षेत्र, त्यहाँको राजनीतिक, सामाजिक अवस्था उल्लेख गरिएको छ । साथै मेरो गृह जिल्ला बाँकेको शहर नेपालगञ्ज र त्यहाँको फुलटेक्रा, एकलैनी, कारकाँदो, वाटिका होटललगायतका क्षेत्रकाबारेमा चित्रण गरिएको छ । चितवन र नारायणी पनि मेरो परिचित शहर र नदी हुन् । त्यहाँको सामाजिक र राजनीतिक विषयमा पढिरहँदा म अहिलेको अवस्थाका बारेमा मात्र जानकार भएकाले पुरानो अवस्थाको चित्रणले उत्सुक बनाउँथ्यो । उपन्यास पढिरहँदा कतिबेला म रोमाञ्चित भएँ, कतिबेला उत्सुक त कतिबेला निराश । उपन्यासमा व्यक्त भएका शब्द, राजनीतिक चेत र विचारले उहाँ एक क्रान्तिकारी लेखक भएको दर्शाउँछ । गहिरो अध्ययन र साहित्यको धेरै विधामा लामो अनुभव संगालेका लेखक विरहीको यो उपन्यासले राजनीतिप्रति रुचि राख्ने नयाँ पुस्ताका लागि राजनीतिमा त्याग, समर्पण र लगन आवरश्यक छ भन्ने कुराको ज्ञान दिन्छ ।