२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

सत्तारूढ नै सडकमा

ADV
जानकी पाठक
२०८१ मंसिर ६ गते ०६:३५
सत्तारूढ नै सडकमा

काठमाडौं : सरकारको नेतृत्वकर्ता दल हो– नेकपा एमाले । सरकारमार्फत जनताको काम गर्नुपर्ने दायित्वमा एमाले नेतृत्व छ । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा एमालेले काठमाडौंमा जागरण सभा गर्दै छ ।

एमाले शक्ति प्रदर्शनका लागि गर्न लागेको सभा शुक्रबार काठमाडौंको दरबारमार्गमा हुँदै छ । नेताहरूका अनुसार त्यस दिन र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ । 

एमालेले जागरण सभामा १ लाख मानिस उतार्ने लक्ष्य लिएको छ । प्रतिपक्षी दलहरूले सडकमा अराजकता फैलाउने काम गरेको निष्कर्ष निकाल्दै एमालेले प्रतिवादको रूपमा जागरण सभा गर्न लागेको हो । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताउँछन् । यसका लागि सभा गर्न लागिएको उनको भनाइ छ । उपमहासचिव ज्ञवाली भन्छन्, ‘शान्तिपूर्ण ढंगले सडकमा जाने कुरा ठिक भए पनि अहिले जुन ढंगको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ, त्यो गलत छ । यस कारण एमालेले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने सन्देश दिन खोजेको हो ।’ 

पूर्वसांसद विरोध खतिवडा सत्तारूढ दलले सडक आन्दोलन गर्नु नसुहाउँदो विषय भएको बताउँछन् । ‘सरकार भएपछि राजनीतिक दलले जनतासँग गाँसिएको विषय सल्टाउन सक्छ’, उनी भन्छन्, ‘संसदीय व्यवस्था सडकको विरोध सदनमा ल्याउने व्यवस्था हो । यस कारण प्रतिपक्षी सडकमा जाँदा पनि प्रश्न उठाउन मिल्छ । सत्तारूढ दल नै सडकमा जानु त सुहाउने विषय होइन ।’ 

तथापि, नेपालमा सत्तारूढ दलले सडक प्रदर्शन गर्ने अभ्यास विगतमा पनि रहेको खतिवडा बताउँछन् । यो पुरानो अभ्यास र संसदीय व्यवस्थाको मर्मविपरीत रहेकाले सबै दलहरू सच्चिनुपर्ने उनको राय छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकारमा रहेको दलले प्रदर्शन गर्नु अनुपयुक्त हुने बताएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झा सत्तापक्षले प्रदर्शन गर्ने नभई काम गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सत्ता पक्षले डेलिभर गर्ने तर प्रधानमन्त्रीको पार्टीले सडकमा आएर जनप्रदर्शन गर्ने रे !’ 

ADVADV

सम्बन्धित खबर

Advertise