२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

नेपाली फिल्मको कीर्तिमानी सन्देश

ADV
२०८१ मंसिर ९ गते ०६:२५
नेपाली फिल्मको कीर्तिमानी सन्देश

नागरिकमा रहेको निराशाबाट मुलुक समृद्ध बन्न नसक्ने निष्कर्ष निकालेर राजनीतिक दलहरुले अनेक गतिविधि गरिरहेका छन् । सरकारकै नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार जागरण सभा ग¥यो । राजधानीस्थित  दरबारमार्गको सडकमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख बक्ता भएर गरिने कार्यक्रमको नाम जागरण सभा राख्नुमा नागरिकमा आशा जगाउनुपर्ने तर्क थियो । नागरिक निराश रहेको निष्कर्षमा एमाले एक्लो छैन । सत्ता र प्रतिपक्षीमा रहेका सबै दलले एकस्वरमा भनिरहेका छन्– जनतामा आशा जगाउनुपर्नेछ । तर नागरिकमा निराशा बढेर गएको निष्कर्ष नेताहरुको भाषणले मात्र नभएर अरु सूचकहरुले पनि देखाउँछ । बढ्दो विदेशिने प्रवृत्ति, कृषि उत्पादनमा कमी, पहाड रित्तो, उपभोग्य र निर्माण सामग्रीको निर्यात बढ्दो, ब्यापार घाटा चुलिदो जस्ता सूचक हेर्दा नागरिक खुशी हुनुपर्ने ठाउँ भेटिदैन । तर यतिका क्षेत्रमा निराशा देखिदा एउटा क्षेत्र उत्साहित बनेको खबर यतिबेला प्रचार भइरहेको छ । त्यो हो, नेपाली चलचित्रले गरिरहेको प्रगति । 

यो दशैं, तिहार अनि त्यसअघिका समयमा नेपाली चलचित्रले पाइरहेको दर्शक कीर्तिमानी छ । तिहार लक्ष्मीपुजाको दिनबाट प्रदर्शन सुरु भएको ‘पूर्णबहादुरको सारांगी’ले नेपाली चलचित्रको ५९ वर्षे इतिहासमा अनेक कीर्तिमान रचिरहेको छ । यो चलचित्रको विश्वब्यापी कलेक्सन ५६ करोड नाघिसकेको छ । नेपालभित्र ४० करोड र बाहिर २६ करोड संकलन भइसकेको दाबी छ । यसले धेरै कमाउने, एकैदिन धेरै शो हुने, एकैदिन धेरै कमाएको जस्ता अनेक कीर्तिमान बनाइरहेको छ । यस बाहेक ‘छक्कापञ्जा–५’ ले २० करोड, ‘१२ गाउँ’ले २२ करोड, ‘बेहुली फ्रम मेघौली’ले ४ करोड, ‘ज्वाइँं साब’ले २ करोड, कमाएका छन् । यी सबै चलचित्र दशैं, तिहार छेको चलेका हुन् । त्यसबाहेक अरु चलचित्रले पनि राम्रै कमाइरहेको छ । समग्रमा नेपाली चलचित्रको कमाई एक अर्ब नजिक पुगेको छ । यति धेरै कमाइ नेपाली चलचित्रबाट भएको यो पहिलोपटक हो । कीर्तिमान कमाई गर्न २१ लाख बढी दर्शक पाएको बताइन्छ । 

नेपाली चलचित्र क्षेत्रको कीर्तिमानी उत्साहबाट अनेक सन्देश लिन सकिन्छ । मूल सन्देश त नेपाली चलचित्र क्षेत्रमा अथाह संभावना छ भन्ने नै हो । भारतीय चलचित्रको दबदबा चिर्न संभव छैन भन्ने बुझाइ यसपटक गलत सावित भएको छ । हुनत बितेको डेढ दशक यता नेपाली चलचित्रले आफ्नो स्पेश जबर्जस्त बनाउन थालेको हो । अहिले प्रविधिको बढ्दो पहुँज, वैदेशिक रोजगारीमा आधारित भएपनि नागरिकको आर्थिक विकास इत्यादीका कारणले नेपाली चलचित्रले कीर्तिमानी दर्शक पाउन संभव भइरहेको छ । मौलिक रचना, अभिनय जस्ता थुप्रै कुरा सुधार्न आवश्यक होलान्, तर विदेशी चलचित्र भन्दा स्वदेशीलाई नेपालीले प्राथमिकतामा राख्छन् भन्ने सन्देश पनि लिन सकिन्छ । चलचित्र क्षेत्रमा मात्र सीमित नहुने हो भने अरु उद्यममा पनि कीर्तिमानी सफलता हासिल हुन संभव हुन्छ । बस्, नौलो प्रयास र अथक मेहनत भने गरिरहनुपर्छ, स्वदेशभित्रै समृद्धि संभव छ ।

ADVADV

सम्बन्धित खबर

Advertise