२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

प्रधानमन्त्री भर्सेस मेयर

ADV
दिवाकर अधिकारी
२०८१ मंसिर १० गते ०६:३०
प्रधानमन्त्री भर्सेस मेयर

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिमाना तिराउने निर्णय लिएपछि २ पक्ष आमनेसामने भएका छन् । यही ७ मंसिरमा एमालेले काठमाडौं महानगरपालिका– १ दरबारमार्गस्थित सडकमा जागरणसभा गरेको थियो । त्यसक्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले १ लाख रुपैयाँ जरिमाना तिर्न एमालेलाई भनेको छ । 

नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई लेखेको पत्रमा ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १ लाख जरिमाना गरिएको’ उल्लेख छ । तर, यो पत्र लिन नै एमालेले अस्वीकार गरेको छ । 

आइतबार जरिमानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले फर्काइदिएको हो । एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरणसभा आयोजना गरिएको थियो । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली त्यसै फर्किएको छ ।

यही विषयलाई लिएर २ पक्ष आमनसामने भएका हुन् । एकपछि अर्को विषयमा एमाले, एमाले अध्यक्ष ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आमनेसामने हुँदै आएका छन् । पछिल्लो समय दरबारमार्गको फोहोर नउठाएको विषयलाई लिएर दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । 

एमाले महासचिव पोखरेलले सामाजिक संजालबाटै प्रतिकार गरेका छन् । काठमाडौं महानगरका मेयर बालेन एमालेका विरुद्ध परिचालित छन् भन्ने जरिमानाको पर्चाबाट बुझ्न सकिने उनको तर्क छ । 

कार्यक्रम समापन भएपछि सरसफाइ आयोजकका तर्फबाटै भइरहेको उनको दाबी छ । संकलन गरिएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको उनको भनाइ छ । उक्त अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिमानाको प्रचार गरिएको उनको गूनासो छ ।

‘जतिबेला महानगरका नाममा जरिमाना पर्चा सार्वजनिक गरियो, त्यतिबेला स्वयंसेवकहरू कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो’, महासचिव पोखरेलले लेखेका छन् । 

मेयरको ध्यान केवल जरिमानामा रहेको पोखरेलको टिप्पणी छ । ‘मेयरको ध्यान सरसफाइमा होइन, जरिमानाको स्टन्टबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन्, ‘जागरणसभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो ।’

ADVADV

सम्बन्धित खबर

Advertise