२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

पितृ उद्धार र बाला चतुर्दशी

ADV
२०८१ मंसिर १४ गते ०६:१५
पितृ उद्धार र बाला चतुर्दशी

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

यस वर्षको शतबीज छर्ने बाला चतुर्दशी पर्व १५ मार्ग शनिबार परेको छ । यद्यपि, पशुपतिमा बत्ती बाल्ने काम भने अघिल्लो दिन १४ गते नै हुनेछ– मार्ग कृष्ण त्रयोदशीमै । पशुपति क्षेत्रलगायत देशैभरिका शिवालयहरूमा मृत पितृका नाममा बत्ती एवं महादीप बाल्ने काम यसै रात्रिमा गरिन्छ ।

खासगरी शतबीज छर्नुपूर्व अघिल्लो दिन त्रयोदशीको बेलुकी शिवालयहरूमा मृत पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने पर्वको रूपमा हेरिने चलन हामीकहाँ धेरै पुरानो हो । यी दिनहरूमा काठमाडौंको पशुपति, गौरीघाट, किरातेश्वर, मृगस्थलीमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ । नेपालका सिन्धुली, नुवाकोट, काभ्रेलगायत १० वटा जिल्लाहरूमा रहेका ६४ ज्योतिर्लिंगेश्वर मन्दिरमा भक्तजनको ठूलै भीड हुन्छ भने अन्यत्र पायक पर्ने स्थानमा पनि ।

के गरिन्छ यस दिन ?

दिवंगत पितृ उद्धार हेतु पाशुपत क्षेत्रमा गरिने धेरै कार्यमध्ये शतबीज रोपण अर्थात् शतबीज छर्ने काम पनि एक प्रमुख हो । त्यसो त शतबीज छर्नुअघि राति पितृ उद्धार हेतु दीप प्रज्ज्वलन गर्ने, महादीप बाल्ने चलन छ– दिव्य लोकमा पितृको बास र उज्यालो होस् भनेर ।

साँच्चै चारै दिशाका भक्तहरूको ओइरो नै लाग्ने गर्छ यहाँ । त्यसो त पशुपति आउन नसक्नेहरूले सिन्धुली जिल्लाको कुशेश्वर मन्दिरदेखि काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, ललितपुर, भक्तपुरलगायत १० वटा जिल्लाहरूमा रहेका ६४ शिव ज्योतिर्लिंग वा अन्यान्य शिवालय, देवालय तथा शक्तिपीठहरूमा पितृका नाममा बत्ती बाल्ने, जाग्राम बस्ने भोलिपल्ट बत्ती सेलाएर शतबीज छर्ने गरिन्छ ।

पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय धर्म, संस्कृति प्राचीन, अर्वाचीन छ । संसारको उदयदेखि नै आरम्भ भएको हिन्दु संस्कृति र सभ्यताले दिवंग्त पितृहरूको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बाला चतुर्दशी पनि एक हो ।

शास्त्रीय मान्यता

सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् । मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।।
पुजयेत्पशुपं देवं गुह्येशीं परमेश्वरीम् । बासुकिं नागराजन्च तद्दिने परिपूजयेत् ।।

अर्थात् पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्ण दान सरह हुने, दिवंगत पितृहरूले संसारमा भट्किनु नपर्ने, पशुपति, गुह्येश्वरीको दर्शनका साथै बासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुने हुन्छ ।

काठमाडौंको प्रसिद्ध पाशुपत क्षेत्रस्थित लप्सीहरूका रूख भएको श्लेषमान्तक वनलाई अघि बालावन भनिन्थ्यो । बालावनमा शैव धर्मावलम्बी अघोरी बाबाहरू धेरै बस्थे । भनिन्छ, त्रेता युगमा पुलस्त्य ब्राह्मण कुलका रावण, कुम्भकर्ण, सुपर्णखा पनि यहीँ बस्थे । बाग्मती तट गोकर्ण क्षेत्रमा कडा तप गरे तिनले ।

विश्वका प्रसिद्ध पशुपतिनाथको ज्योतिर्लिंग उदय भएपछि शैवमार्गीहरू यस क्षेत्रमा धेरै भए । तीमध्ये एक नायक थिए बालानन्द । त्यतिबेला मसानघाटमा भोज भतेर खाने प्रचलन रहेछ । एक दिन खानेकुरा खाँदाखाँंदै घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिट्टियो र उनै बालानन्दको खानामा पर्न गयो ।

थाहा नपाई उनले त्यो खाना खाएपछि उनको तेज र फुर्ती धेरै बढेछ । अब त उनले घाटमा जलाउन ल्याएका सबैजसो लासहरूलाई तान्दै वनमा लग्दै खाँदै गर्न थालेछन् । यसो हुँदा हिन्दु धर्म परम्पराअनुसार काजक्रिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नुपरेछ । अन्ततः त्यतिबेलाका राजा भुवनकेशरसम्म जाहेरी भएछ ।

आसुरी प्रवृति बढ्दै गएपछि त्यो बालानन्दको नाम बालासुर हुन पुगेछ । त्यहाँको वनलाई पनि बालावन भनिन थालेछ । सर्वसाधारणको उजुरीपछि राजाले बालासुरलाई बध गर्न आदेश दिएछन् ।

बालासुर निकै बलशाली थियो । जो कोहीले उसलाई बध गर्न सक्ने थिएन तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृष सिंह भन्ने एक व्यक्ति फेला परेछन् । राजाको आज्ञाले बालासुरको बध गर्न उनैलाई भनिएछ ।

तर, वृष सिंह आफैंमा त्यस्तो सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन् । कठोर तपबाट खुशी भई घुम्न आएका शिव दम्पत्तीले बालावनमा वृष सिंहलाई वरदान माग्न भनेछन् । उनले पनि आसुरी शक्ति बालासुरलाई मार्न सक्ने वरदान दिनुहोस् भन्दा शिवजीले हुन्छ भन्नुभएछ । तर, एउटा शर्तमा कि उसलाई मारेपछि उसको शिर भने शिवजीलाई नै दिनुपर्नेगरी ।

वृष सिंह शक्ति सम्पन्न त भए तर मनमनै खिन्न पनि । साथीको हत्या आफैंमा ठूलो अपराध थियो तैपनि बालासुरलाई नमारी नहुने भयो भनेर उनले विभिन्न योजना बनाए । चिउरा, मदिरा, मासुका परिकार साथीलाई मनपर्ने ठानी भरियाका साथमा ठूलै भीड लिएर वृष सिंह घाटतिर जांदै थिए एक दिन । बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठान्यो र लासलाई खोस्न लाग्यो, साथी वृष सिंहलाई पनि देख्यो ।

आपसी संवाद हुँदै जाँदा वृष सिंहले भने, ‘लामो समयपछि तपाईंलाई भेट्न आएको, खालि हात कसरी आऊँ भनेर केही खानेकुरा उपहार ल्याएको छु ।’

बालासुर खानामा लोभी थियो । अघाउन्जेल उपहार, खाना खायो । केहीबेरपछि मदिराले मात्तिएर ढल्पल गर्न लाग्यो । यही मौकामा वृष सिंहका भरियाहरूले उसलाई डोरीले बाँधे, गहिरो इनारमा खसाले, त्यहीँ ढुंगामुढा गरेर मारिदिए । वृष सिंह उसको टाउको लिएर राजाकहाँ पुगे र भने, ‘यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ । राजाले हुन्छ भने ।

वृष सिंह टाउको लिएर पशुपति गए । शिवजी खुशी भएर वरदान माग भन्नुभयो । वृष सिंहले आफ्नो कामप्रति पछुतो मान्दै मित्रहत्याको अपराध नलागोस् भनी वरदान  मागे । शिवजीले भन्नुभयो, ‘त्यसो भए एउटा काम गर । यसको टाउको चाँंदीको बनाऊ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटको रूपमा राख ।’

बालासुरलाई मारेको दिन मार्ग कृष्ण चतुर्दशी रहेछ । त्यसै दिन पारेर पशुपतिमा चांदीको मुकुट लगाइदिने नयां चलन चल्यो, जुन अद्यापि छ । ‘मेरो शिरमा राख्नू अनि दोष लाग्दैन’ भने श्री शिवले । बालासुरलाई मारेको दिन पारेर पशुपतिमा चांदीको मुकट लगाउनाले र यसै दिन श्लेषमान्तक क्षेत्रमा भ्रमण गर्नाले सम्पूर्ण दिवंगत पितृहरूको उद्धार हुन्छ भन्ने पनि वरदान मिल्यो ।

बालाबन, जसलाई श्लेषमान्तक वन भनिन्छ, त्यहाँ बालाकै नामबाट रहेको तिथि बाला चतुर्दशीमा जसले शतबीज छर्छन्, तिनका पितृहरूको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो । सात पुस्तासम्मका पितृहरूको गति मुक्तिका लागि आजसम्म पनि पशुपतिलाई चाँदीको मुकुट लगाइदिने चलन छ । 

शतबीज र गणेश

मार्ग कृष्ण चतुर्दशीमा त्यहाँ ठुलो मेला लाग्ने र पशुपतिको विशेष दर्शन गर्ने पनि चलन छ । सके सयथरि अन्नको बिउ, नसके ७ थरी ः धान, गहुँ, मकै, जौ, मुंगी, भटमास, बोडी आदि एकै ठाउँमा मिलाएर शतबीज बनाउने र छर्ने चलन छ ।

खासगरी उम्रने वस्तु आवश्यक हो । अहिले फलफूल, उखु अन्य वस्तुका टुक्राहरू पनि राख्ने गरेको देखिन्छ । शतबीजलाई सद्मी भन्ने गरिन्छ । अघिल्लो दिनदेखि नै महादीप बाली जाग्राम बस्ने पशुपति क्षेत्र परिसरमा धुमधामको जात्रा गर्ने, भजन कीर्तन गर्ने पनि चलन छ । भोलिपल्ट चतुर्दशीका दिन शतबीज छर्दा र पशुपति, गुह्येश्वरी, बासुकी, मृगस्थली भ्रमण मात्र गर्दा पनि मानव जन्ममा जन्म मरणको चक्र दूर हुन्छ भनी स्कन्द पुराण हिमवत् खण्ड मृगस्थली माहात्म्य एवं हेमाद्री संहिताहरूमा उल्लेख छ ।

सद्मी छर्ने प्रमुख स्थानहरूमा विश्वरूप, किरातेश्वर, चौसठी क्षेत्र आदि मुख्य हुन् । मृगस्थली नजिकै विश्वरूपा अगाडि बहिरा गणेश छन् । तिनको छुटृै महत्त्व छ । सद्मी छर्न जानेले उनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ । यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्तहरू मृतकका लागि सद्मी छर्न आएका छन् भनी ती बहिरा गणेशले आफन्तका मृतकहरूलाई भनिदिन्छ्न्, खवर पुर्‍याइदिन्छन् ।

सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने गर्छन् । अन्य मठ मन्दिरहरूमा पनि हनुमान, गणेश आदिको तस्बिर, मूर्ति हामी पाउने गर्छौं, जसले मन्दिरमा को कहिले आए ? के गरे ? सबै अभिलेख राख्ने गर्छन् भनिन्छ ।

शतबीजको एक दाना एक रति सुन बराबरको पुण्य हुने हुनाले सद्मीका बीजहरूको अनगिन्ती पुण्य हुने कुरा धर्मशास्त्रहरूमा उल्लेख भएको पाइन्छ ।

शिवजीले अघि मृग रूप लिएर यसै मृगस्थलीमा भ्रमण गरेकाले यहाँँको नाम मृगस्थली रहेको र बाला चतुर्दशीकै दिन शिवले एकसिंगे मृग रूप लिएकाले यस दिन मृगस्थलीमा पुग्ने र शतबीज छर्नेहरू जो कोही पनि दीर्घजीवी र पुण्यात्मा हुने गर्छन् ।

पशुपति क्षेत्रमा हिजोआज जताततै हरेक दिन बिहान–बेलुका त्यहाँ भ्रमण गर्नेहरू आफ्नो आयु बढाउन चाहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise