सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका उपनिर्वाचनअन्तर्गत उपप्रमुख पदका लागि मतदान जारी छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकृत नविन कुमार कठायतले बताए । उनका अनुसार बिहान ११ बजेसम्म यहाँ ४ हजार ४७ मत खसिसकेको छ ।
नलगाडमा १६ मतदान स्थल र २४ मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिका भित्र १६ हजार ४ सय ४९ जना मतदाताले मतदान गर्ने छन् । नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पका कारण निधन भए पछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो ।
नलगाडमा उपप्रमुखका लागि ६ जना चुनावी मैदानमा छन् । जसमा कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, राप्रपा नेपालबाटसुनिता पुन रावल र नेपाल समाजवादीबाट पवित्रा जैसी रहेका छन् ।