रौतहट : रौतहटको ३ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।
गढिमाई नगरपालिका–८, राजपुर नगरपालिका–६ र इशनाथ नगरपालिका–७ को अध्यक्षका लागि भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । निर्वाचनलाई लक्षित गर्दै तीनवटै स्थानीय तहको मतदान केन्द्रहरूमा कडा सुरक्षा प्रबन्ध मिलाइएको थियो ।
मतदानमा मतदाताहरू उत्साहपूर्ण रूपमा सहभागी भएका थिए ।
गढिमाई नगरपालिका–८ मा भएको मतदानमा ८१.३१ प्रतिशत मत खसेको छ । कुल मतदाता संख्या दुई हजार सात सय ५१ रहेकोमा दुई हजार दुई सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय विरनगराले जनाएको छ ।
त्यस्तै राजपुर नगरपालिका–६ मा कुल मतदाता संख्या २ हजार ५ सय ४६ रहेकोमा १ हजार ७ सय ६६ जनाले मतदानमा भाग लिएका छन भने इशनाथ नगरपालिका–७ मा कुल मतदाता संख्या २ हजार ७ सय ७ रहेकोमा १ हजार ८ सय ७० जनाले मतदान गरेको छ । तिनवटै ठाउँको मतपेटिका संकलन गर्ने काम सकिएको छ भने तिनवटै ठाउँको मतगणना आजै रातिदेखी शुरु गर्ने तयारी छ ।