विराटनगर : नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतरको द्वन्द्व फेरि चर्किएको छ । संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले विराटनगरमा आफू पक्षीय नेता तथा कार्यकताहरूको भेला बोलाएपछि २ समूहबीचको द्वन्द्व फेरि सतहमा आएको छ ।
संस्थापन समूहले सोमबार भेला रोक्न गरेको आग्रह बेवास्ता गर्दै कोइराला समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला गरेको हो । विराटनगरको जैन भवनमा भएको भेला बुधबारसम्म चल्ने छ ।
पालिका सभापतिहरूको भेला भनिए पनि संस्थापन पक्ष सहभागी भएको छैन । कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू सहभागी भएको दाबी गरे ।
कोशी प्रदेशका १३७ वटै पालिकाका सभापतिहरूलाई भेलामा निम्तो दिइएको थियो, जसमध्ये १०० भन्दा बढी पालिका सभापतिहरू उपस्थित रहेका नेता चापागाईंले बताए ।
पार्टीले औपचारिक रूपमा जानकारी गराएपछि शेखर समूहले बोलाएको भेलामा उपस्थित हुने वा नहुनेमा पालिका सभापतिहरू अन्योलमा परेका थिए ।
भेलामा कोइराला समूहबाट पालिकामा जितेका सभापति र पदाधिकारीहरू सबै सहभागी छन् । कोशी प्रदेशमा कोइराला समूहका ६० भन्दा बढी पालिका सभापतिहरू छन् । पालिका सभापतिहरूलाई अधिकार दिनसके मात्र पार्टीलाई बलियो बनाउन सकिने कोइरालाको तर्क छ ।
संस्थापन पक्षले कोइराला समूहको भेलालाई अवैध भनेको छ । केन्द्रीय कार्यालयले कोशी प्रदेशमा २२ मंसिरसम्म कुनै औपचारिक कार्यक्रम नभएको जनाउँदै त्यसबाहेकका कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको थियो । कांग्रेसले २२ मंसिरमा विराटनगरमै प्रथम प्रदेश सम्मेलन गर्दै छ । सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने छन् ।
बुधबारसम्म चल्ने भेलामा पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने, सबै भ्रातृ संस्थाका अधिवेशन गराउनुपर्नेसहितका विषयमा छलफल भएको कोइराला समूहका नेता गुरुराज घिमिरेले बताए ।
‘हरेक संकटमा विराटनगर जागेको छ । आज कांग्रेस कमजोर भएको अवस्थामा विराटनगरले सन्देश दिन खोजेको हो’, उनले भने ।
नेता घिमिरेले पार्टीको आन्तरिक विधान, नगर र गाउँ समितिको अधिकार, पार्टी संगठनको अवस्था, उम्मेदवार छनोट प्रक्रिया, कार्यकर्ताको प्रशिक्षण आदिका विषयमा छलफल केन्द्रित भएको बताए ।
‘यस्ता प्रकारका भेला गर्न पार्टी विधानले रोकेको छैन’, उनले भने, ‘सकुर्लरको अर्थ छैन ।’ भेला गुटगत नभएको दाबी गर्दै उनले विधानअनुसार नै भएको तर्क गरे ।
घिमिरेले कांग्रेसको विधानको हवाला दिएर पार्टीका पालिकास्तरीय समितिहरूले गरेको कार्यक्रमलाई अवरोध गर्न खोज्नु दुर्भाग्य भएको टिप्पणी गरे । कांग्रेसको विधानमा संगठनलाई चलायमान बनाउन तल्ला तहहरूले कुनै कार्यक्रम गर्न नपाउने भन्ने उल्लेख नभएको उनको दाबी छ ।
भेलाको उद्घाटन गर्दै कोइरालाले कोशी प्रदेशस्तरीय सभापतिहरूको भेलामा प्रदेशका १३७ पालिकामध्ये ११३ पालिकाका सभापति उपस्थित रहेकाले प्रशिक्षणमा सिकेका विषय पालिकामा कार्यान्वयन गर्न र गाउँ तहसम्म पुर्याउन आग्रह गरे । उनले क्रियाशील सदस्ययता नवीकरण नभइरहेको अवस्थामा निर्धारित समयमै महाअधिवेशन हुनेमा आशंका गरे ।
भेलामा उपस्थित हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोच्न सहभागी सभापतिहरूलाई समेत कोइरालालाई आग्रह गरे ।
कोइराला पक्षीय नेता डा. मीनेन्द्र रिजालले भेला रोक्न केन्द्रीय समितिले पठाएको पत्रलाई लक्षित गर्दै आन्तरिक प्रतिस्पर्धालाई ध्यान नदिएर विज्ञप्तिमार्फत हल्ला गर्नुको औचित्य नभएको बताए ।
उनले पार्टीभित्र कटुता र विभाजनको सन्देश दिन खोज्नेहरूलाई होसियार हुन चेतावनी पनि दिए ।
कार्यक्रममा सहभागी एक नेताका अनुसार भेलामार्फत वस्तुतः कोइरालाले गृहनगरमा शक्ति परीक्षण गरेका हुन् ।
पालिका सभापतिहरू भेला गरेर कोइरालाले पार्टी नेतृत्वलाई महाधिवेशनका लागि दबाब पुर्याउने संकेतसमेत गरेका छन् । १५औं महाधिवेशन २०८३ मंसिरमा हुने छ । तर, कोइरालाले समयमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरे ।
‘क्रियाशील सदस्यताको अहिले जसरी वितरण भइरहेको छ, यसले महाअधिवेशन समय हुने सम्भावना छैन’, भेलामा कोइरालाले भने ।