इटहरी : सुनसरीको धरानबाट सरकारी नम्बर प्लेट टाँसेको २ वटा स्कार्पियोबाट मंगलबार राति झण्डै ७ क्वीन्टल गाँजा बरामद गरिएको छ । उक्त स्कार्पियोलाई नियन्त्रण लिन प्रहरीले २ राउन्ड गोलीसमेत चलाएको थियो ।
ईलाका प्रहरी कार्यालय धरानले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त स्कार्पियो बरामद भएको गाँजा र सवारी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई सार्वजनिक गरेको छ ।
सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार धरान १३ अमरहाटबाट बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कार्पिओबाट ६९० किलो गाँजा बरामद भएको हो । दुवै गाडीको नम्बर प्लेट चेक गर्दा एउटा भने अख्तियारसँग मिलेको थप अनुसन्धान भइरहेकोले नम्बर प्लेट नक्कली हो या गाडी अख्तियारकै हो केही भन्न नमिल्ने सुनसरीका एसपी सुमन तिम्सिनाले बताए ।
राति साढे ७ बजे धरानमा ४ राउन्ड गोली हानेर नियन्त्रणमा लिइएको दुई गाडीमध्ये एक गाडीको पछाडीको भागमा गोली लागेको छ । प्रहरीको चेकिङलाई पेलेर अगाडि बढेपछि फायर खोल्दा पछाडिको सिसामाथी लागेर गएको प्रहरीले बताएको छ । सेतो नम्बर प्लेट भएकै कारण धनकुटाको प्रहरी चेकपोस्टबाट फुत्किएको गाडी धरानको अमरहाटमा भाग्न खोज्दा समातिएको पत्रकार सम्मेलनमा धरानका डिएसपी प्रकाश जवेगुले जानकारी गराए ।
रातको समयमा भेडेटारबाट आउँदै गरेको सरकारी गाडी देखेपछि सोधपुछ गर्न खोज्दा चेकिङ पेलेर गाडी भागेको र रोक्न आग्रह गर्दा अटेर गरेपछि फायर खोलेको डिएसपी जवेगुले बताए । गोली लागेको स्कास्र्पियो अतालिएर खोल्सीतर्फ रोकिएपछि सोका चालक पक्राउ गरेका थिए भने अर्का चालक फरार रहेको र खोजी कार्य भइरहेको धरान प्रहरीले जनाएको छ ।
एक सातामा एक हजार ४ सय किलो गाँजा बरामद
यो साता मात्रै सुनसरीको विभिन्न स्थानबाट प्रहरीले १ हजार ३ सय ९७ किलो गाँजा बरामद गरिसकेको छ । सुनसरी प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाका अनुसार गत मंसिर १३ गतेराती तरहराको पानीपीयाबाट को १ च ७६८९ नम्बरको स्कार्पियो गाडी भित्र लुकाइ राखेको ३०९ किलो गाँजा बरामद गरेको थियो । त्यस्तै १८ गते सुनसरीकै कोशी गाउँपालिका वडा नं. ७ हरीपुरबाट ३ सय ४० किलो गाँजासहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । १८ गते नै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा टोलबाट ५८ किलो ३ सय ग्राम गाँजासहित धरानका सुनिल राई पक्राउ परेका थिए । यो सातामात्रै प्रहरीले सुनसरीको विभिन्न स्थानबाट १ हजार ३ सय ९७ किलो गाँजा पक्राउ गरेको छ । गाँजासँगै कारोबारमा संलग्नहरूलाई अवैध लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
कोशीमा कडाइपछि राजमार्गबाट छिर्न थाल्यो गाँजा
केही वर्ष यता बराहक्षेत्रको सप्तकोशी हुँदै सिरहा सप्तरी र भारतीय बजारसम्म गाँजा तस्करी हुने गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार बराहक्षेत्रको कोशी क्षेत्रमा कडाइ गर्न थालेपछि अहिले सिधा राजर्माग तस्करहरूको मुख्य माध्यम बन्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । विगतमा कोशीमा बासको डुंगाबाट तस्करी हुने गरेको गाँजा नियमित जसो प्रहरीले समात्न थालेपछि अहिले सो क्षेत्रमा बासको डुंगानै लोप भइसकेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
किन हुन्छ तस्करी ?
नेपालको गाँजा भारतीय बजारमा निकै महंगो मूल्यमा बिक्री हुने गरेको छ । नेपालमा त्यति चासोको विषय नरहेपनि भारतीय बजारमा गाँजा प्रतिकिलो ४५ सय देखि १६ हजार सम्म कायम रहँदै आएको छ । भारत सरकारले देशमा गाँजा प्रतिबन्ध लगाएदेखि नै तस्करहरूले नेपाली भू–भागलाई निशाना बनाउँदै आइरहेका छन् ।
१० वर्ष यता प्रहरीको रिपोर्ट हेर्ने हो भने सिरहा सप्तरीका अधिकांश भित्री गाउँहरूमा भारतीय व्यवसायीहरूले जग्गा लिजमा लिएर गाँजा खेती गरेको भेटिन्छ । नेपालमा गाँजा खेती गर्न नपाइने कानुन बनेपछि प्रहरीले सबै गाँजाका बोटहरू मास्ने अभियान चलाउँदा सिरहा सप्तरीमा नाम निसाना मेटियो ।
सिरहा सप्तरी लगायत भारतका सिमावर्ती क्षेत्रहरूमा प्रहरीले कडाइका साथ नियम लागु गर्न थालेपछि तस्कर तथा व्यापारीको नजर पूर्वी पहाडी भेगतिर सर्याे फलस्वोरूप धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा जस्तता पहाडी क्षेत्रमा अहिले पनि गाँजा खेती प्रशस्तै रहने गरेको केही घटनाक्रमले देखाइरहेको छ ।
प्रहरीले बरामद गरेका गाँजाहरू प्रायः धनकुटा हुँदै आइरहेको घटनाक्रमले पनि पुष्टि गर्छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डिआइजी चन्द्रकुँवर खापुङ पनि यो कुरालाई नकार्न सक्दैनन् । उनी गाँजा नियन्त्रण सम्बन्धी सबै मातहतका प्रहरी कार्यालयहरूमा कडा निर्देशन जारी गरिसकेपनि बेला–बेला क्वीन्टलका क्वीन्टल समातिएको समाचारले झस्काउने गरेको बताउँछन् । तराई क्षेत्रमा गाँजाका बोट मास्ने अभियान सफल भएपनि पहाडी भेगका कतिपय दुर्गम क्षेत्रमा यो खेती अझै कायम रहेको र सो क्षेत्रको पहिचान गरी त्यहाँ पनि नस्ट गर्ने डिआइजी खापुङ बताउँछन् ।