
काठमाडौँ : काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ३२ किलो ७३० ग्राम लागुऔषध खैरो हेरोइनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जना र थप अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको हो ।
ब्युरोले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज २३ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित सुरुङमार्गबाट जनकपुर हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा तीन भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, समस्तीपुर जिल्ला वडा नम्बर २५ का १९ वर्षीय पुष्पम प्रकाश, सोही स्थानका २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन् । उनीहरूको साथबाट ३२ किलो ७३० ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले काठमाडौँ महानगरपालिका-२२, सुन्धारास्थित एक होटलबाट थप दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको झारखण्ड राज्यको गढिडीह गाउँपालिका-६ की २३ वर्षीया कृष्टि खड्की र २५ वर्षीया रामकृष्ण खड्की रहेका छन् ।
प्रहरीले लागु औषधसँगै १ हजार ११० क्याप्सुल ट्रामाडोल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन् ।
प्रहरीले बरामद लागुऔषधको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान गरिरहेको विषयमा भने विज्ञप्तिमा विस्तृत विवरण खुलाइएको छैन ।