२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

सीमा नाघेका मेयर

ADV
२०८१ मंसिर २१ गते ०६:४०
सीमा नाघेका मेयर

धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफ्नोबारे रिपोर्ट तयार पार्ने पत्रकारविरुद्ध सार्वजनिक चेतावनी दिएका छन् । साम्पाङको पृष्ठभूमि र मेयरका रूपमा गरिरहेको गतिविधि पारदर्शी नरहेको रिपोर्ट तयार पार्ने पत्रकार गोपाल दाहालविरुद्ध उनले लगातार चेतावनीको भाषा प्रयोग गरिरहेका छन् । उनको शैली र प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघलगायत सामाजिक संस्थाहरूले आपत्ति जनाएका छन् । सच्चिन र माफी माग्न गरिएको अपिललाई मेयर साम्पाङले खण्डन गरिरहेका छन् । यसअघि पनि सार्वजनिक पदका निम्ति सुहाउने उनको भाषा हुँदैनथ्यो । आफ्नाबारे प्रश्न गर्ने जोकोहीविरुद्ध खनिनुलाई साम्पाङले योग्यता सम्झने गरेका थिए । गैरदलीय उम्मेदवारी दिएर मेयर जितेकाले पनि त्यस्तो दम्भ उनमा विकास भएको प्रस्ट छ । एउटा व्यक्तिले त्यति ठूलो उपमहानगरको नेतृत्व जित्नुलाई उनले त्यसबेला अपनाएको शैली स्वाभाविक पनि थियो । प्रमुख दलहरूले निरन्तर गल्ती गरिरहने तर सच्याउन तयार नहुने कमजोरीलाई साम्पाङले आफ्नो पक्षमा जनमत बनाउने अवसरका रूपमा प्रयोग गरे । लोकतान्त्रिक शासन प्रणालीमा मेयर साम्पाङले जस्तो विधि अपनाए, त्यो संविधानले दिएको अधिकार थियो । 

मतदाताले पनि उनलाई रुचाए । साम्पाङलाई रोज्न पाउनु मतदाताहरूको अधिकारको विषय हो । त्यसैले जुन शैलीका साथ मेयर जिते, जिताइए त्यसको सम्मान हुनुपर्छ । आज मेयरको वैधानिक हैसियतमा रहेकैले साम्पाङप्रति नागरिकको विश्वास, भरोसा र आपत्तिहरू छन् । विधिको शासनमा मेयर साम्पाङ, आमनागरिक र राज्यबीचको त्यस्तो सम्बन्ध हुनै पर्छ । अर्थात्, मेयरको हैसियतमा रहेसम्म साम्पाङ समाजको वैधानिक हिस्सा हुन् । उनको दायित्व, कर्तव्य र प्रतिक्रियाहरू पनि वैधानिक हुनुपर्छ, एक हदसम्म मर्यादित हुन आवश्यक छ । तर, उनको पछिल्लो गतिविधि र निर्णयले सीमा नाघिरहेको छ । अदालतको फैसलाबारे जथाभावी बोल्ने, फरक विचारलाई अस्वीकार गर्ने, राज्यको प्रचलन र विधि नमान्नेदेखि प्रश्न उठाउनेहरूविरुद्ध सार्वजनिक चेतावनी दिने कार्य निन्दनीय हो । एउटा मेयरका रूपमा गरिन नहुने कार्यहरू हुन् । अझ कसैको ज्यान नै असुरक्षित हुने संकेतसहितको चेतावनी किमार्थ स्वीकार्य हुन्न । यसरी राज्य चल्न सक्दैन । 

मेयर साम्पाङको भाषा आजको सचेत पुस्ताका निम्ति योग्यसमेत छैन । संभवतः नयाँ भनेर आएका दलहरू र स्वतन्त्र जितेका अरू पात्रहरूको सिको उनले पनि गरेको हुन सक्छ किनकि मिडिया क्षेत्रप्रति रास्वपाका सभापति रवि लामिछानेले केही समय अगाडि तथानाम निष्कर्ष सुनाएका थिए । अहिले आमसंचारप्रति अविश्वास सिर्जना गर्ने एउटा पात्रका रूपमा रवि बन्न पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन पनि मिडियाप्रति अनुदार छन् । कतिपय नेताहरूले पनि मिडियाबारे जथाभावी निष्कर्ष प्रस्तुत गर्ने गर्छन् । त्यसैको सिको गर्दै मेयर साम्पाङले सार्वजनिक चेतावनी दिएको अनुमान गर्न सकिन्छ । तर, विधिको शासन र संविधानको सर्वोच्चता कमजोर बनाउने वातावरणले समाज सुरक्षित रहँदैन । असुरक्षित समाजले नागरिकको जीवनको प्रत्याभूति दिलाउन सक्दैन । समग्रमा लोकतन्त्र र जनतालाई नै कमजोर बनाउने छन् । अतः एउटा विधिबाट आएका व्यक्तिले विधिको शासनप्रति विश्वास गर्नुपर्छ । स्वतन्त्र पत्रकारिता विधिको शासन र लोकतन्त्रलाई बलियो बनाउने फरक क्षेत्र हो । त्यसैले कतिपयले यसलाई चौथो अंग पनि भन्छन् । तर, मेयर साम्पाङले कमजोरी लुकाउन अथवा कुनै नियतका साथ आफ्नो सीमा नाघेका छन् । यसमा उनले माफी माग्न आवश्यक छ, त्यही नै एक मात्र विकल्प हो ।

ADVADV

सम्बन्धित खबर

Advertise