काठमाडौं : नेकपा माओवादी केन्द्र साना वामपन्थी दलहरूसँग फेरि एकताको प्रयासमा लागेको छ । माओवादी अध्यक्ष प्रचण्डका अनुसार शनिबार मात्र पनि ३ वटा वामपन्थी दलका नेताहरूसँग एकताका लागि वार्ता भएको थियो ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी निकट शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘आज बिहान मात्र एकताको सन्दर्भमा, राजनीतिक ध्रुवीकरणकै सन्दर्भमा ३ वटा वामपन्थी पार्टीका नेताहरूसँग मेरो संवाद भएको थियो । बढो सकारात्मक संवाद भएको छ ।’
अध्यक्ष प्रचण्डले कोकोसँग छलफल भएको भन्ने खुलाएनन् । कोसँग भेटेको नखुलाए पनि प्रचण्डले भेटेका नेताहरूको पृष्ठमूमि सुनाए, ‘हिजोका माओवादी धारसँग सम्बन्धित पनि हुनुहुन्थ्यो । त्योभन्दा बाहिरका वामपन्थी समाजवादी धारसँग सम्बन्धित पनि हुनुहुन्थ्यो । उहाँहरू सबैको अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन भन्ने एक स्वर थियो ।’
नेताहरूका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट छुट्टिएर बसेको समूहका नेता महिन्द्र राय यादवसँग भेटेका थिए ।
यही भेटका आधारमा प्रचण्डले नेपालको वामपन्थी आन्दोलन अगाडि बढाउनका निम्ति एकताको विकल्प नरहेको भन्नेमा सैद्धान्तिक सहमति भएको बताएका हुन् ।
यी ३ पार्टीसँग माओवादी केन्द्रले विगतमा पनि एकताको प्रयास गर्दै आएको छ । एकताका लागि दलहरूले वार्ता समिति नै पनि बनाएका छन् । यसलाई थप तीव्रता दिने प्रयास माओवादी अध्यक्ष प्रचण्डले गरेका हुन् ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति नै भएको छ । २ पार्टीका बीचमा एकता संयोजन समिति नै बनेको थियो । यी २ पार्टीका बीचमा पार्टी एकता गर्ने र एकीकृत पार्टीको नामको विषयमा आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय भइसकेको छ । तर, एकता घोषणा हुन बाँकी छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि एकताको नीति पारित गरिसकेको छ । उक्त पार्टीको डेढ वर्ष अगाडि नै यस्तो निर्णय गरेको हो । यो पार्टीको निर्णय छ, ‘क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने छ ।’
यो निर्णयपछि विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पटकपटक छलफल गरेका छन् ।
एकताका लागि छलफल चलिरहेकै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी नेपालको समूहसँग एकताका लागि माओवादीले पुनः छलफल अगाडि बढाएको छ ।
वामपन्थी पार्टीहरूसँग एकताका लागि आवश्यक निर्णय केन्द्रीय समितिबाट गर्ने माओवादीको तयारी छ । आगामी २ पुसमा माओवादीको केन्द्रीय समितिको बैठक बस्दै छ । उक्त बैठकबाट आवश्यक निर्णय लिएर साना वामपन्थी दलहरूसँग एकताको पहल थप अगाडि बढाउने माओवादीको तयारी छ ।
माओवादी अध्यक्ष प्रचण्ड विगतमा पनि साना दल जोड्दै अगाडि बढ्दै आएका नेता हुन् । संविधानसभामा ३३ दलीय मोर्चा बनाएका प्रचण्डले पछिल्लो समय ४ दललाई जोडेर समाजवादी मोर्चा बनाएका थिए । उक्त मोर्चामा रहेका र बाहिरका अन्य दललाई एकतामा ल्याएर प्रचण्डले थप शक्ति आर्जन गर्न खोजिरहेका देखिन्छन् ।