२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संकट टार्न एकता प्रयास !

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ १९ गते १६:०४
संकट टार्न एकता प्रयास !

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता प्रयास भएको छ । मधेश प्रदेशको सरकार जोगाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेससहितका विपक्षी दलहरुसँग निरन्तर संवादमा छन् । सरकारमा रहेको एकीकृत समाजवादी पनि विपक्षी गठबन्धनमा रहेका नेताहरुसँग निरन्तर संवादमा छन् । 

नेताहरुका अनुसार एकीकृत समाजवादी पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प खोज्न तयार भएको छ । यसका लागि आवश्यक राजनीतिक कदम चाल्न तयार भएका बेला जसपा नेपाल फुटेपछि तत्कालका लागि वैकल्पिक सरकार गठनको प्रयास केही पर धकेलिएको छ ।

जसपा नेपाल फुटविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । जसपा नेपालको फुटले वैधानिकता नपाएको खण्डमा वैकल्पिक सरकार गठनका लागि आवश्यक कदम चाल्ने तयारीमा कांग्रेसको तयारीमा जसपा नेपाल र एकीकृत समाजवादी समेत रहेको नेताहरु बताउँछन् ।

१२ सांसद सहित संसदमा रहेको जसपा नेपाल फुटेर जसपा बनेको छ । अशोक राईको नेतृत्वमा सात जना सांसदले नयाँ पार्टी दर्ता गरेका छन् । नयाँ पार्टी सरकारमा सहभागी छ । नयाँ पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा रहँदा पाँच सांसद रहेको जसपा नेपाल प्रतिपक्षमा रहेको छ ।

आदालतबाट जसपा फुटले वैधानिकता नपाउने विश्वासमा नेताहरु छन् । राजनीतिक दल सम्बन्धी ऐनको दफा फुटाउने सम्बन्धी व्यवस्था सक्रिय नरहेका बेला जसपा फुटेको हो । यही आधारमा जसपा फुटले वैधानिकता नपाउने विश्वासमा रहेका नेताहरु त्यस्तो फैसला भए लगत्तै वैकल्पिक सरकारको तयारीमा रहेको बताउँछन् । 

उपेन्द्र यादव नेतृत्वको जसपा फुटले अदालतबाट वैधानिकता नपाए तत्काल माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्नेसम्मको तयारीमा नेताहरु छन् । पार्टी फुटले वैधानिकता नपाए उपेन्द्र यादवसँग पुनः १२ सांसद हुनेछन् । एकीकृत समाजवादीसँग १० सांसद छन् । यी दुई दल मिले संघीय संसदमा २२ सिटसहित चौथो शक्ति बन्नेछ । 

एकीकृत समाजवादीका नेताहरु जसपा नेपालसँग पार्टी एकताबारे छलफल चलिरहेको बताउँछन् । अघिल्लो वर्ष समेत यी दुई पार्टीबीच पार्टी एकताको विषयमा छलफल चलेको थियो । फेरि पार्टी एकताको बहस दुई पार्टीका नेताहरु गरिरहेका छन् । 

१८ पुस २०७९ मा बसेको पार्टीको पोलिटब्यूरो बैठकपछि एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताबारे छलफल चलेको बताएका थिए । उनले भनेका थिए, ‘जसपासँग एकता भयो भने आश्चर्य नमाने हुन्छ । हामी छलफलमै छौं, सकारात्मक छलफल अघि बढेको छ ।’ 

४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले सोचेजस्तो परिणाम नल्याएपछि त्यसबेला एकता प्रयास गरेका थिए । त्यसबेला छलफल भएर ठोस निर्णयमा पुग्न नसकेको एकता प्रक्रिया फेरि अगाडि बढेको हो । यो बेला भने संघीय संसदमा चौथो ठूलो दल बन्ने आकांक्षासहित एकता प्रक्रियाको छलफल चलेको छ । साथै, जसपा फुटे जसरी नयाँ पार्टी फुटका लागि सहज नहुने अनुमान पनि दुवै दलका शीर्ष नेताहरुको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise