काठमाडौंः सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका–२ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।
काठमाडौं नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।