
रौतहट : जिल्ला अदालत रौतहटबाट कैद तथा जरिवाना सजाय ठहर भई लामो समयदेखि फरार रहँदै आएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले विशेष अभियानमार्फत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूबाट खटिएको विशेष टोलीले जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका ३७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत गौरमा बुझाएको छ ।
अदालतको अन्तिम फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत यो सफलता मिलेको हो । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ७ वर्ष २ महिना २७ दिन कैद असुली र २ लाख ७३ हजार ७ सय ७० रुपैयाँ जरिवाना असुलीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले पक्राउ गरेका प्रतिवादीहरू विभिन्न किसिमका गम्भीर तथा सामाजिक अपराधमा संलग्न रहेका छन् । पक्राउ पर्नेहरूमा जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग जस्ता गम्भीर अपराधका अभियुक्तहरू सहित सवारी ज्यान विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, किर्ते जालसाजी, कुटपिट तथा अंगभंग र अभद्र व्यवहार मुद्दाका फरार व्यक्तिहरू रहेका छन् ।
पक्राउ परेका मुख्य सजाय ठहर भएका प्रतिवादीहरूमा सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना ९ दिन कैद सजाय तोकिएका व्यक्ति, जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष कैद र ५०० रुपैयाँ जरिवाना तोकिएका व्यक्ति तथा बाल शोषण आरोपमा ४१ हजार ७ सय ५० रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी रहेका छन् । यस्तै, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा ४ महिना ६ दिन कैद, नागरिकता किर्ते मुद्दामा २२ हजार ८ सय रुपैयाँ जरिवाना र लेनदेन बिगो मुद्दामा ९ महिना ४ दिन कैद र ६ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका फरार व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पछिल्लो समय बढ्दै गएको चेक अनादर मुद्दाका १४ जना, कुटपिट तथा कुटपिट अंगभंग मुद्दाका ६ जना, जालसाजी तथा किर्ते मुद्दाका ७ जना र अभद्र व्यवहार मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई समेत पक्राउ गरी अदालतमा दाखिला गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षप बसन्त गौतमका अनुसार समाजमा अपराध गरी सजायबाट उम्किन खोज्ने कुनै पनि अपराधीलाई कानुनको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अदालतको फैसला पूर्ण रूपमा कार्यान्वयन गराउन यस्ता विशेष पक्राउ अभियानलाई आगामी दिनहरूमा अझ कडाइका साथ निरन्तरता दिइने डिएसपी गौतमले जानकारी दिए ।
पक्राउ परेका सबै ३७ जना प्रतिवादीहरूलाई कैद भुक्तान तथा जरिवाना असुली प्रक्रियाका लागि जिल्ला अदालत रौतहट गौरको आदेशानुसार कारागार चलान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।