घटना १
ग्त ४ मंसिरमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका– २ मा १ महिलाले श्रीमान्को हत्या गरिन् । ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय मधु कुमालको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् ।
घरायसी विवादका कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेकी थिइन् । मृतकका १६ वर्षीय छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए । उनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । उक्त प्रहरी टोलीले दीपालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
घटना २
गत ३० वैशाखमा सल्यानमा धारिलो हतियार प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरे । बनगाड कुपिण्डे नगरपालिका– ४ देउलीका अन्दाजी ३४ वर्षका मनोज बुढाले ३२ वर्षकी कमला बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्यापछि श्रीमान्ले पनि घर पछाडि दलिनमा झुन्डिएर आत्महत्या गरेका थिए ।
घटना ३
गत १० संसिरमा रुकुम पश्चिमकै आठबिसकबोटमा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । रुकुमपश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका– १० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । बाबु–छोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेका थिए ।
घटना ४
२३ साउन २०८० मा सल्यानको शारदा नगरपालिका– १३ सल्यानचौरका २३ वर्षीय छोरा नवीन भण्डारीले ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरे । आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई नवीनले लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । बुबाआमा सुतिरहेका समयमा छोराले आमालाई मात्र लाठी प्रहार गरी हत्या गरेका थिए ।
उल्लेखित हत्याका घटना उदाहरण मात्र हुन् । कर्णालीमा यस्ता घटना दैनिकजसो भइरहने गर्छन् । कतिपय घटनाहरू प्रहरी सामु आए पनि केही घटनाहरू भने प्रहरी सामु पुग्दैनन् । चालू आर्थिक वर्षको ५ महिनामा मात्र कर्तव्य ज्यान मुद्दामा १० जनाविरुद्ध उजुरी परेको छ । प्रहरीको अभिलेखअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका १० जिल्लामा ५१ घटना भएका छन् ।
अधिकांश हत्या आफन्तबाटै !
कर्णालीमा हुने अधिकांश घटना आफन्तबाटै हुने गरेका छन् । माथि उल्लेखित घटना पनि आफ्नै परिवारबाट भएका पाइएको छ । घर परिवार र नजिकका आफन्तबाट हत्या हुनुमा अनैतिक सम्बन्ध, आर्थिक लेनदेन र घरायसी कुरामा वादविवाद मुख्य कारण देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पछिल्लो समय श्रीमान्–श्रीमतीले एकअर्काको हत्या गर्ने क्रम पनि बढेको छ । श्रीमान् र श्रीमतीबीच आपसमा विश्वास गुम्दै जाँदा, परपुरुष या परस्त्री सम्बन्ध देखिँदा हत्याको घटना हुने गरेको पनि पाइएको छ ।
नेपालमा पछिल्लो समय अभिभावकीय निगरानीको कमीका कारण सामाजिक मर्यादा र अनुशासन हराउँदै गएका कारण पनि परिवारभित्रैका अर्थात् नजिकका व्यक्ति मार्ने क्रम बढेको प्रहरीको भनाइ छ ।
किन बढ्दै छन् हत्याका घटना ?
प्रहरीले दिएको जानकारीअनुसार अधिकांश घटना आर्थिक, पारिवारिक समस्या र अवैध यौन सम्बन्धका कारण हुने गरेका छन् । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । डिप्रेसन र मादक पदार्थ सेवनका कारण पनि हत्याका घटना भएका देखिएको छ ।
समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्कालको आवेग रहेको पाइएको प्रहरीले जनाएको छ । हत्या, हिंसा जस्ता जघन्य अपराधले नागरिकमा त्रास फैलिएको छ ।
हत्याका घटना बढ्नुमा आपसी कलह, सम्पत्तिको लोभलगायत पनि कारण देखिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीका अनुसार सामान्य विवादलाई पनि ठूलो ‘इस्यु’ बनाएर व्यक्ति हत्यासम्म पुग्ने गरेको देखिन्छ ।