काठमाडौं : आफ्नै विशिष्ट शैलीको गायनका कारण कुनै बेला दर्शक तथा श्रोतामाझ लोकप्रिय चर्चित पप ब्यान्ड आस्थाको पुनरागमन हुने भएको छ ।
पछिल्लो एक दशक दर्शक माझ गुमनामजस्तै भएको आस्था पुनः एक पटक साङ्गीतिक माहोल जमाउन स्टेजमा उत्रँदैछ । जसको घोषणा ब्याण्डले गरिसकेको छ ।
कन्सर्टकै लागि सुदीप गुरुङ बेलायतबाट काठमाडौं आउँदैछन् भने काठमाडौंमै रहेका नरेन लिम्बू कन्सर्टको तयारीमा छन् । दशकअघि नेपाली साङ्गीतिक जगतमा पप पारखीमाझ लोकप्रिय यस ब्याण्डका सदस्यहरू तितरबितर भएपछि केही समय दर्शकका अगाडिबाट अलगिएको थियो । यही समय सुदीप बेलायत उडे भने नरेन काठमाडौंमा रहे ।
पछिल्लो एक दशक ‘आस्था’ गुमनामजस्तै थियो । अब भने ब्यान्ड जुरमुराउने भएको छ । दशक लामो रिक्ततालाई तोड्दै आस्था पप पारखीमाझ फर्किने निश्चित भएको छ । कमब्याक तयारीका लागि ब्याण्डले काठमाडौं र पोखरामा कन्सर्टको घोषणा गरेको छ ।
ब्यान्ड २४ डिसेम्बरमा पोखराको रोलिङ स्टोन रक बारमा गुञ्जिनेछ । काठमाडौंको एलओडी क्लबमा २८ डिसेम्बरमा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।
ब्याण्डले अंग्रेजी नयाँ वर्षमा नयाँ गीत ल्याउने तयारी गरिरहेको छ । भोकलिस्ट नरेनले अहिले गीतको कम्पोज भइरहेको बताए । उनका अनुसार गीत सार्वजनिक भएपछि ब्यान्ड अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका मुलुकमा टुरका लागि निस्कनेछ । हरपल, सफलता, आइ देऊ, अन्तिम माया, बिर्सना ब्याण्डका हिट गीतहरू हुन् ।