काठमाडौंः घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका(३ बाट बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका–१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूले पीडितलाई फ्रि भिषा फ्रि टिकटमा कुवेतमा मासिक १ सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई पुर्याई, दुबईबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याई कुवेती घर मालिकलाई ९ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।