२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुटवलको डेल्टा मार्टमा भएको आगलागीबाट झण्डै ५० करोडको क्षति

ADV
क्षितिज किरण
२०८१ असार ७ गते २१:००
बुटवलको डेल्टा मार्टमा भएको आगलागीबाट झण्डै ५० करोडको क्षति

बुटवल : बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट करिब ५० करोड बराबरको क्षति भएको छ । आगलागीबाट त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

बिहीबार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनि कम्प्लेक्स भने पूर्ण रुपमा ध्वस्त भएको छ ।

मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी शुरु भएको थियो ।

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाध्यान्नका मार्ट सञ्चालनमा थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन् । 

आगलागीपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए । कम्प्लेक्समा मार्टका गोदाम समेत रहेकोले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र शिशा जडान गरी निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट शुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो ।

कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तीनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । बुटवलका ठूला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले सञ्चालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुई वर्षदेखि नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि सञ्चालन गरिएको थियो ।

कम्प्लेक्समा सञ्चालित विभिन्न पसल तथा फर्महरुमा २ सय बढीले रोजगारी पाएका थिए । आगलागी कहाँबाट शुरु भयो र कति क्षति भयो भन्ने पूर्ण विवरण नआइसकेपनि ५० करोड बढीको क्षति भएको डेल्टा कमप्लेक्सका सञ्चालक घनश्याम पाठकले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise