सुनवल, नवलपरासी : उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा संचालित चौथो सुनवल महोत्सव २०८१ समापन भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा सुनवल नगरपालिका प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा महोत्सव समापन भएको हो ।
समापनलाई सम्बोधन गर्दै नगर प्रमुख बिमला अर्यालले यस महोत्सव पहिला भन्दा भब्य रुपमा सफल भएको बताइन् ।
महोत्सवमा व्यापार, व्यवसाय, उद्यमशिलता, महिला, बालबालिका सबैलाई प्राथमिकता दिएको उनले बताइन् ।
विकासको लागि नगरपालिका निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै निजी उद्योगीहरुलाई उद्योग संचालन गर्न उनले आग्रह गरिन् ।
उद्योग वाणिज्य संघले उठाएको ७ र ८ नम्बर वडालाई सिँधा जोड्न सडक निर्माणको लागि नगरपालिकाको पूरा प्रयास रहने उनले जानकारी गराइन् ।
नगर प्रमुख अर्यालले उद्योग वाणिज्य संघले आफ्नो भवन निर्माण गर्ने भएमा पालिकाबाट पुरा सहयोग हुने बताइन् ।
कार्यक्रम समापन गर्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक लेखनाथ खरेलले महोत्सव सभ्य एवं भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
महोत्सवमा पहिलाको भन्दा बढी स्टलहरु, विभिन्न जातजाति, मगर, गुरुङ, थारुहरुका मौलिकता झल्कने घरहरु, खानाका परिकारहरु साथै स्थानीय उद्योगबाट उत्पादन गरी बिक्री वितरण भएको थियो । महोत्सव मंसिर १२ गतेदेखि २९ गतेसम्म संचालन भएको थियो ।