काठमाडौं : इतिहास बोकेको व्यावसायिक घराना ज्योति समूह औपचारिक रूपमै छुट्टिएको छ । नेपालको उद्योग व्यवसायमा शताब्दी पुरानो विरासत बोकेको ज्योति समूहमा दाजुभाइबीच सम्पत्ति बाँडफाँट र कम्पनीहरूमाथिको नेतृत्व विवादकै कारण द्वन्द्वमा परेको थियो ।
दाजु पद्म ज्योति र भाइ डा. रूप ज्योतिबीच पारिवारिक विवाद १० वर्षअघि नै सुरु भएको थियो । २ दाजुभाइबीच सम्पत्ति विवाद प्रहरीमा उजुरी हुँदै अदालत तथा मिडियामा सार्वजनिक सूचना नै निकाएर सतहमै आएको थियो ।
लामो समयदेखि आन्तरिक विवाद टुंगिएको भन्दै दाजु पद्म ज्योतिले आइतबार नयाँ समूह र लोगो सार्वजनिक गरेका छन् । उनले ज्योति समूहलाई पद्म ज्योति समूह बनाएका छन् । पद्म ज्योति समूहको अध्यक्ष भएका छन् भने संस्थापक सदस्यमा मीरा ज्योति, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योतिको टिम बनेको छ ।
समूहको लोगोमा कलश र अष्टमंगल राखिएको छ । ज्योति समूह औपचारिक रूपमा छुट्टिएको घोषणा कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई आत्मसात् गर्दै नयाँ अध्याय सुरु गरेको बताए ।
उनले भने, ‘एक शताब्दीभन्दा लामो समयदेखि ज्योति समूहको मार्गदर्शक सिद्धान्तको रूपमा जीवित रहेको आस्था, नवीनता र उत्कृष्टतालाई यथावत् राखी यो नवीन सुरुवातले व्यवसायलाई अग्रगति दिनेतर्फ नयाँ बाटो कोरिएको हो ।’
केही समयदेखि ज्योति परिवार पारिवारिक कम्पनीहरूको पुनर्संरचना र विभाजनको कठिन क्षणबाट गुज्रिरहेको थियो । पारिवारिक विवाद नेपाली समाजमा मात्र नभई संसारभर हुने एक तथ्य हो भन्दै उनले भने, ‘इतिहासले देखाउँछ कि परिवारहरू मात्र होइन, व्यवसाय, राज्य र राजनीतिक पार्टीहरू समेत बलियो हुनका लागि पनि टुक्रिन्छन् ।’
यस्तै, पद्म ज्योति समूहका निर्देशक सौरभ ज्योतिले समूहमा समय सापेक्ष परिवर्तनकै लागि छुट्टिएको बताए । उनले भने, ‘ज्योति समूहको पाँचौं पुस्ता पनि ठूलो भइसकेको छ र केही वर्षमा काममा जोडिन्छन् । त्यसैले पनि परिवर्तनको आवश्यकता हो । कुनै पारिवारिक समूह फुट्नु भनेको अझै बलियो हुनु हो । ’
उनले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान नै बनाएर टुंग्याएको दाबी गरे ।
विवादको सुरुवात
सन् १९२० मा भाजुरत्न र उनका छोरा मणिहर्ष ज्योतिले स्यामुकापुको स्थापना गरेर व्यावसायिक यात्रा सुरु भएको थियो । ज्योति समूहले हिमाल आइरन, हिमाल सिमेन्ट, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स र हिमाल अक्सिजन नेपालकै पहिलो उद्योगको रूपमा स्थापना गरेको थियो ।
विवादको सुरुवात मणिहर्ष ज्योतिका छोरा पद्म ज्योति र रूप ज्योतिबीचको सम्पत्तिको हकाधिकारबाट भएको थियो । हिमालयन बैंकको संस्थापक शेयरको भागबन्डाबाटै ज्योति समूहका परिवारभित्र विवादको सुरुवात मानिन्छ ।
ज्योति समूहका मुली बाबु मणिहर्षको निधनपछि ज्योति समूहको विरासत अध्यक्ष पद्म ज्योतिले लिएका थिए । तर, रूप ज्योतिले ४ वर्षअघि आफूलाई अध्यक्ष घोषणा गरेपछि विवाद थप उत्कर्षमा पुगेको थियो । २०३९ सालमै अंशबन्डा गरिएको भए पनि कम्पनीको शेयर सम्पत्ति बिवाद हुँदा २ दाजुभाइको विवाद सार्वजनिक रूपमै बाहिरिएको थियो ।
दाजुभाइबीचको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । यस्तै, पद्म ज्योतिले ग्रान्डी सिटी हस्पिटल भाडा नतिरेको भन्दै रूप ज्योतिले चलाइरहेको हस्पिटलमा भाडा नतिरी घर कब्जा गरेको आरोप लगाउँदै सूचना नै प्रकाशन गरेका थिए । रूप ज्योतिले हस्पिटलले आगामी १० वर्षसम्म अग्रिम पेस्की बुझाएको भन्दै विज्ञप्ति निकालेका थिए । तर, पद्म ज्योतिले काठमाडौं महानगरको सहायतामा हस्पिटल खालि गराउन खोजेपछि महानगरले हटाउन सकेन ।
सन् १९२० मा सुरु गरेको व्यवसायले १ शताब्दीसम्म नेपालको औद्योगिक क्षेत्रमा ठूलो ब्रान्डको रूपमा काम गरेको थियो ।