निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस एजेन्टसँग रकम बार्गेनिङ गरेको अडियो प्रकरणले अहिले राजनीतिसँगै सामाजिक सञ्जाल तातेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने सरकारकै मन्त्री घूस बार्गेनिङमा मुछिएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । आलोचनापछि नैतिकताको कारण दर्शाउँदै मन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन् ।
अडियोलाई लिएर यतिबेला दुई मत प्रकट भएका छन्– एक बाँस्कोटालाई कारबाही गर्नुपर्छ । अर्को– अडियोलाई नै सम्पूर्ण प्रमाण मान्नु हुँदैन । यसको वैज्ञानिक परीक्षण हुनुपर्छ ।
सार्वजनिक अडियोमाथि बाँस्कोटा स्वयंले प्रश्न उठाएका छन् । बिगारेर फेक अडियो बनाइएको जिरह बाँस्कोटाको छ । तर, बाँस्कोटाको दाबीमा उतिधेरै दम देखिँदैन । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका पात्र विजय मिश्र सरकारको विज्ञदेखि दलालीसम्मका भूमिकामा जोडिएकाले दालमा कालो मिसिएकै छ । तथापि त्यही अडियोकै आधारमा कारबाहीको डण्डा वर्षाउनु भने उपयुक्त हुँदैन । वैज्ञानिक परीक्षणबाट त्यसको सत्यतथ्य अन्वेषण गर्नुपर्छ ।
बाँस्कोटाको प्रधानमन्त्रीसँगको निकटतालाई हेरेर कतै उनले उन्मुक्ति या सफाइ पाउने हुन् कि भन्ने संशय पनि कतिपयले पालेका छन् । कृष्णबहादुर महराले चीनसँग रकम माग्दा जसरी सत्ताको आडमा अभय दान पाएका थिए, त्यसकै पुनरावृत्ति हुने कतिपयको आकलन छ । तर, बाँस्कोटा प्रकरणमा त्यस्तो गरिनु हुँदैन । भ्रष्टाचारको जरोकिलो उखेल्ने विगतको बाचा सम्झेर प्रधानमन्त्रीले आफूलाई खरो उतार्नु पर्छ । प्रधानमन्त्रीले विगतको आफ्नै नारालाई यहीबाट प्रस्थान विन्दु बनाउनुपर्छ ।
अरस्तुले २४ सय वर्षअघि राजनीतिको परिकल्पना गर्दै भनेका थिए– राजनीति पेसा होइन, उत्तरदायित्व हो । विश्वका अधिकांश विकसित मुलुक अरस्तुको लाइनमा हिँडिरहेका बेला नेपालको राजनीति भने २४ सय वर्षअघिको अरस्तुको चेतनास्तरमा अझैसम्म उक्लन सकेको छैन ।
यसको ज्वलन्त प्रमाण निर्वाचनदेखि बालुवाटार प्रकरणसम्म पटाक्षेप भएकै छन् । राजनीतिलाई उत्तरदायित्व र सेवाका माध्यम बनाउने भन्दा पनि कमाउ पेसा बनाउने क्रम बढेको छ । राजनीतिजस्तो पवित्र र उत्तम कर्मलाई कमाउने पेसाका रूपमा बदनियत गराइएको छ । यो राजनीतिप्रतिको अपमान हो । भद्दा मजाक हो । समकालीन नेपाली राजनीतिको यो बिडम्बना अब कायम हुनु हुँदैन । यदि गरिन्छ भने यो समृद्धिको यात्रा र भावी पुस्ताका लागि गद्धारी हुनेछ ।
त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा व्याप्त भ्रष्टीकरणविरुद्ध आफूलाई खरो उतार्न हिचकिचाउनु हुँदैन । भ्रष्टाचारप्रति निर्मम बन्दै तातेकै बेला घन ठोक्नुपर्छ । सिंगो नेकपाले पनि पूर्व र दक्षिण नभनी भ्रष्टाचारविरुद्धको अभियान छेड्न सरकारलाई साथ दिनुपर्छ । रह्यो कुरा कांग्रेसलगायत प्रतिपक्षको । उनीहरूले पनि राजनीतिका नाम थुप्रिएका घरभित्र र बाहिरका फोहोर हटाउन रचनात्मक प्रतिपक्षको भूमिका खेल्न कन्जुस्याइँ गर्न हुँदैन ।
राजनीतिमा मौलाउँदो भ्रष्टाचारको अर्को पाटो पनि छ, दलालीकरण । राजनीतिज्ञ र मन्त्रीलाई विचलित पारेर दलालहरूले कसरी मन्त्रीहरूलाई गलत बाटो हिँडाउन बाध्य पार्छन् भन्ने ज्वलन्त उदाहरण हुन्, बाँस्कोटा प्रकरणमा जोडिएका स्विस एजेन्ट भनिने विजयप्रकाश मिश्र । यस्ता धेरै विजय प्रकाशहरूले जनताको सपनालाई यसरी नै अन्धकारमा धकेलेका छन् । यस्ता दलालीकरणविरुद्ध उत्रन पनि अब सरकारले बियालो गर्न हुँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies