काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भइ काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् ।
पक्राउ मध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।