दोहा, कतार : कतारमा राहदानी नवीकरणका लागि अनलाइनमार्फत भर्न मिल्ने पासपोर्टको फारम नखुल्ने गरेको गुनासो बाक्लिन थालेका बेला कतारस्थित नेपाली दूतावासले समस्या समाधानका लागि विकल्प तयार पारेको छ ।
दूतावासले एक सूचना जारी गर्दै विशेषगरी पासपोर्टको म्याद सकिएका, सकिनै लागेका र पासपोर्टको म्याद सकिएका कारण कतार आइडी रिन्यु नभएका नेपाली नागरिकहरूका लागि अति आवश्यकताका आधारमा आफैंले फाराम भरिदिने जानकारी दिएको हो ।
सोमबार राहदानी सेवाबारे एक सूचना जारी गर्दै दूतावासले +९७४ ५९९३७१४९ नम्बरको ह्वाट्सएपमा पासपोर्टको म्याद सकिएका, सकिनै लागेका र राहदानीको म्याद सकिएका कारण कतार आइडी रिन्यु नभएका नेपाली नागरिकहरूले आफ्नो पूरा नाम, नेपालको पूरा ठेगाना, राहदानीको म्याद सकिएको÷सकिने मिति, कतार आइडीको म्याद सकिएको/सकिने मिति र फोन सम्पर्क हुने फोन नम्बर लेखेर पठाउन आग्रह गरेको छ ।
सूचनामा प्राथमिकताका आधारमा अपोइन्टमेन्ट मिति तोकेर राहदानी सेवा प्रदान गरिने स्पष्ट पारेको छ । यस सेवाबाट राहदानी सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सकिने विश्वास दूतावासले लिएको छ ।