२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार
Ads

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो

ADV
२०८१ पुष १० गते ०६:२०
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो

काठमाडौं : मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २२६ जनाको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति भएको छ । गत वर्ष मंसिरमा ६२ हजार १४७ जना गएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष मंसिरमा २० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । असोजको तुलनामा कात्तिक महिनामा केही कमी आए पनि मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ ।

नेपालीका मुख्य चाडपर्व दसैं, तिहार र छठ जस्ता पर्व सकेर ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा हिँडेका हुन् । प्रमुख राजनीतिक दलहरूले स्थिरता, सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताए पनि श्रम गर्ने उमेर समूहका कम युवा–युवतीले त्यसमा विश्वास गरेका तथ्यांकले देखाएको छैन । चाडपर्वको महिना कात्तिकमा पनि करिब ५५ हजार नेपाली  वैदेशिक रोजगारीमा गएका थिए ।

मंसिरमा म्यानपावर कम्पनीमार्फत २८ हजार ८६८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार मंसिर महिनामा सबैभन्दा धेरै नेपाली कामदार यूएई गएका छन् । मंसिरमा यूएई जान म्यानपावर कम्पनीमार्फत १४ हजार २८ जनाले श्रम स्वीकृति लिएका छन् । उक्त महिनामा २४ हजार ७६९ जना यूएई गएका छन् । कात्तिकमा उक्त संख्या १२ हजार ४८५ थियो ।

साउदी अरेबिया दोस्रो स्थानमा रहेको छ । उक्त मुलुकमा म्यानपावर कम्पनीमार्फत ६ हजार ७५३ जनासहित १८ हजार ११५ जना गएका छन् । सूचीको तेस्रो स्थानमा रहेको कतार जान म्यानपावर कम्पनीमार्फत ३ हजार १११ जना सहित १४ हजार ८४४ जनाको श्रम स्वीकृति भएको छ । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढे पनि विश्वकप फुटबलपछि नयाँ रोजगारी सिर्जना हुन नसकेको बताइएको छ ।

मंसिरमा मलेसियामा म्यानपावर कम्पनीमार्फत ४ जना, व्यक्तिगत २२ जना र पुनः श्रम स्वीकृति मार्फत ४ हजार ४६९ जनाको श्रम स्वीकृति भएको छ । कात्तिकमा ३ हजार ९७९ जना मलेसिया गएका थिए । मलेसियाबाट पुस महिनादेखि मात्र केही डिमान्ड आउन थालेको छ ।

खाडी मुलुक कुवेतमा मंसिरमा म्यानपावर कम्पनीमार्फत ३ हजार ११८ र समग्रमा ६ हजार ६९० जनाको श्रम स्वीकृति भएको छ । बहराइनका लागि ६१३ जनाको संस्थागत श्रम स्वीकृतिसहित समग्रमा १ हजार १८३ जनाको श्रम स्वीकृति भएको छ ।

युरोपेली मुलुक साइप्रसमा म्यानपावरमार्फत ३७० जना महिला सहित समग्रमा ६६३ जना , जापानमा म्यानपावर कम्पनीमार्फत ११० जना र अन्य प्रक्रिया मार्फत गरि २ हजार ३७१ जना, जोर्डनमा म्यानपावरमार्फत ९४ जना सहित  १३३ जना, मरिससमा म्यानपावरमार्फत १९५ जना सहित समग्रमा ६५३ जना गएका छन् । मंसिरमा क्रोएसियामा म्यानपावरमार्फत १ जना पनि गएका छैनन् तर, उक्त मुलुकमा व्यक्तिगत नयाँ १ हजार ११६ सहित कुल १ हजार ४११ जना गएका छन् ।

मंसिरमा  माल्टा म्यानपावर कम्पनीमार्फत १ जना पनि गएका छैनन् भने व्यक्तिगत रूपमा १६४ र समग्रमा ४०७ जना, रोमानियाका लागि म्यानपावरमार्फत १४६ जना र व्यक्तिगत रूपमा १ हजार ६२६ सहित २ हजार ३४२ जनाको श्रम स्वीकृति भएको छ ।

क्यानाडा, माल्दिभ्स, पोल्यान्ड र बेलायतमा व्यक्तिगत श्रम स्वीकृतिमा गए पनि म्यानपावर कम्पनीले ती मुलुकमा पठाउन श्रम स्वीकृति लिन सकेका छैनन् । म्यानपावर कम्पनीले १४ मुलुकमा पठाउँदा व्यक्तिगत श्रम स्वीकृतिमा ९१ मुलुकमा नेपाली कामदार पुगेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise