सियोल : दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार गैरव्यावसायिक विदेशी कामदारहरूलाई भित्र्याउने निर्णय गरेको छ । योनहाप समाचार एजेन्सीका अनुसार कृषि र मत्स्यपालन जस्ता क्षेत्रमा श्रमिक अभावलाई सम्बोधन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
दक्षिण कोरियाले आगामी वर्षका लागि इ–९ रोजगार अनुमति भिसाअन्तर्गत कामदारको संख्या यस वर्षको तुलनामा ३५ हजारले घटाएको बताएको छ । कोरियामा विदेशी कामदारका लागि प्रदान गरिने भिसा विभिन्न वर्गमा बाँडिएको छ, जसमध्ये रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत इ–९ भिसामा १ लाख ३० जना लैजाने बताएको छ । यो गत वर्षभन्दा ३ दशमलव ५ प्रतिशत कम हो ।
कोरियाले मौसमी कामदार भिसा इ–८ अन्तर्गत ७५ हजार जना लैजाने बताएको छ । माछा मार्ने कोरियन समुदायको जनसंख्याको कमीलाई ध्यानमा राख्दै इ–१० भिसाको संख्या बढाउन लागिएको हो । पानीजहाजमा काम गर्ने र माछा मार्ने मरिनसम्बन्धी कामका लागि इ–१० भिसा दिने गरिएको छ ।
इ–१० रोजगार भिसाका लागि कुनै निश्चित सीमा नतोकिएकाले उक्त भिसामा कति संख्यामा विदेशी कामदार लैजाने भन्ने अन्योल बनेको हो । नेपालले गत वर्षको तुलनामा न्यून कोटा पाउने छ । नेपालमा इपीएस परीक्षा संचालनमा देखिएको उद्दण्डतापछि नेपाली कामदारले राम्रो काम गर्दागर्दै पनि अनुशासनको मामिलामा कोरिया नेपालप्रति सकारात्मक नरहेका कारण कोटा घटेको बताइएको छ ।
कोरियाले परीक्षा फारम भर्दा नै कडाइ गर्दै छ । कोरियाले आवश्यक संख्याको ३ गुणा बढीको मात्र फारम भर्न पाउने बताएको छ । यसले आकर्षक तलबसहितको दक्षिण कोरियाको रोजगारीमा छनोट हुन लामो समयदेखि कडा परिश्रम गरिरहेका धेरै युवा निराश हुनुपर्ने बताइएको छ ।