काठमाडौं : नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको हितविपरित कार्य गरेको आरोपमा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । रावल उनै नेता हुन्, जो दशौं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा चुनाव लडेका थिए ।
आफूसँग प्रतिस्पर्धा गरेकै कारण ओलीले रावललाई पार्टीमा कुनै भूमिका दिएनन् । आफूसँग फरक मत राख्ने रावललाई पार्टीबाट निष्कासन गर्दै गर्दा अध्यक्ष ओलीले पछिल्लो घटनामा फरक मत राखेकै आधारमा स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाउने निर्णय गराएका छन् ।
पाण्डे र तिमल्सेनालाई कारबाही गर्नुको कारण भने एमाले केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरुङबाट लिने निर्णयको विरोध गर्नु हो । एमालेले कीर्तिपुरमा गुरुङबाट कार्यालय भवन लिने निर्णय गरेको छ । अध्यक्ष ओली र गुरुङ दम्पत्तीले उक्त भवनको शिल्यान्यास गरिसकेका छन् ।
यसको विरोध गरेका कारण पाण्डे र तिमल्सेनालाई एमालेले स्पष्टीकरण सोधेको थियो । दुवैले स्पष्टीकरण बुझाएका थिए । तथापि, एमालेले पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
नेताहरूका अनुसार एमाले अध्यक्ष ओलीले आफूसँग फरक मत राख्नेलाई निकाल्दै आएका छन् । यसअघि घनश्याम भुसालले पार्टी छाडेका थिए । भुसाल हाल नेकपा (एकीकृत समाजवादी)मा महासचिव छन् ।
त्योभन्दा अगाडि माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूले ओलीलाई नै देखाएर पार्टी फुटाएका थिए । कुनै बेलाका एमालेका प्रभावशाली नेता वामदेव गौतम पनि एमालेमा छैनन् । गौतम पछिल्लो समय एकीकृत समाजवादीमा जाने तयारीमा छन् ।
नेताहरूका अनुसार एमालेको नेतृत्वमा पुगेपछि ओलीले एकपछि अर्को गरेर आफूसँग फरक मत राख्नेलाई एमालेमा राजनीति गर्नमै निषेध गर्दै आएका छन् । यही मेसोमा भीम रावल पार्टीबाट निष्कासनमा परेका हुन् भने पाण्डे र तिमल्सेना ६ महिनाका लागि जिम्मेवारीबाट हटाइएका हुन् ।
उता, रावलले भने आफूमाथिको कारबाहीलाई ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भनेका छन् ।
तिमल्सेनाले सामाजिक संजालमार्फत आफूलाई ६ महिना निलम्बनको निर्णय भएको थाहा पाएपछि ‘पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चायतकै नक्कल नगर्नुभएको भए हुन्थ्यो’ भनेर लेखेकी छन् ।
पाण्डेले पनि आफूले पार्टीको निष्ठा, सिद्धान्त र मूल्य मान्यताअनुसार आफूले बोलेकामा पार्टीले कारबाही गरेकामा असन्तुष्टि जनाएकी छन् ।