२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'काला पत्थर'को ५४४१ फिट उचाइमा नृत्य गरेर सुरेन्द्र र सुसनले रचे विश्व कीर्तिमान

ADV
मध्यान्ह
२०८१ असार ९ गते १२:०३
'काला पत्थर'को ५४४१ फिट उचाइमा नृत्य गरेर सुरेन्द्र र सुसनले रचे विश्व कीर्तिमान

काठमाडाैं : नेपाली डान्स क्रु 'वाइल्ड रिपर्ज क्रु'का सुरेन्द्र राई र सुसन तामाङ 'गिनिज  बुक अफ वर्ल्ड रेकर्ड'मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् ।

सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर  (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन् । यति धेरै उचाइमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने महत्वाकांक्षी प्रयास गरेका हुन् ।

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल थियो 'मन मगन', जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसँगै काला पत्थर पुगेका थिए । उनीहरुलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।

उनीहरुको यो प्रयासलाई 'गिनिज वर्ल्ड रेकर्ड'ले अनुमोदन गरेको छ । रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो ।

रेकर्ड राख्न सफल भएपछि खुसी हुँदै सुरेन्द्र र सुसन सुनाउँछन्, 'हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौं ।'

खराब मौसमका बाबजुद पनि यो जोडीले आधिकारिकरूपमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको हो । यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए । सानुले आठ हजार मिटरकाे चौध वटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' मा नाम लेखाएका थिए ।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise