काठमाडौं : डिपेन्डेन्ट भिसामा दक्षिण कोरिया लैजाने भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले रामेछाप घर भई हाल भक्तपुर बस्दै आएका साजन मगर भन्ने होमबहादुर मगरलाई पक्राउ गरेको हो ।
२ जना युवतीलाई डिपेन्डेन्ट भिसामा दक्षिण कोरियालगायतका देशमा लैजान्छु भनी २१ लख रुपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।
आचार्यका अनुसार मगरले सामाजिक संजालका माध्यमबाट विश्वासपात्र बनी डिपेन्डेन्ट भिसामा कोरिया लैजाने भन्दै रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए । उनलाई प्रहरीले बाँसबारीबाट पक्राउ गरेको हो ।
यस्तै, आकर्षक तलब सुविधाको वैदेशिक रोजगारीमा म्यासेडोनिया पठाउने प्रलोभनमा ठगी गरेको उजुरीका आधारमा प्रहरीले अर्का १ जनालाई पक्राउ गरेको छ । प्रहरीले खोटाङ केपीलासगढी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका, चन्डोल बस्ने २८ वर्षीया चिना कोयी राईलाई पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीमा म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जनाबाट १२ लाख ९१ हजार रुपैयाँ लिई ठगी गरेको उजुरी परेको थियो । राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।