२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भोजपुर नगरपालिकाले ल्यायो ६३ करोड २५ लाखको बजेट 

ADV
मध्यान्ह
२०८१ असार ९ गते २२:०१
भोजपुर नगरपालिकाले ल्यायो ६३ करोड २५ लाखको बजेट 

दिपेन्द्र लुईटेल/मध्यान्ह 
भोजपुर : भोजपुर नगरपालिकाले आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँ बराबरको बजेट ल्याएको छ । पालिकाले अनुमानित आयव्ययसहित वार्षिक नीति तथा कार्यक्रम पास गर्दै नवौँ नगरसभा आइतबार सम्पन्न गरेको हो ।

नगरप्रमुख कैलाशकुमार आलेले आव २०८१/०८२ का लागि वित्तीय समानीकरण अनुदानबापत संघबाट प्राप्त १० करोड ४६ लाख, राजस्व बाँडफाँटबापत १० करोड १५ लाख, संघमार्फत सशर्त अनुदानबापत ३३ करोड ९० हजार, समपूरक अनुदानबापत एक करोड, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ६४ लाख ११ हजार, सवारी साधन करको राजस्व बाँडफाँटबाट एक करोड १२ लाख ७६ हजार, प्रदेश सशर्त अनुदान एक करोड ४९ लाख २२ हजार, प्रदेश समपूरक अनुदानको ९८ लाख, आन्तरिक राजस्वतर्फ ४ करोड ४० लाख गरी ४० लाख गरी जम्मा ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँको आयव्यय प्रस्ताव गरी नगरसभाबाट बहुमतले पास गरेको हो । 

नगरसभाले नयाँ बजेटमा कोल्ड स्टोर सञ्चालन, निमार्णधीन कृषि बजारलाई व्यवस्थित रुपमा सञ्चालन, पशु बीमा तथा पशु स्वास्थ्य शिविर सञ्चालन, बालमैत्री, प्रविधिमैत्री एवं गुणस्तरीय शिक्षणको व्यवस्था, प्राथमिक तहदेखि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था, कक्षा ९ देखी प्राविधिक धार सञ्चालन लगायतका कार्यक्रमको व्यवस्था गरेको छ ।

त्यस्तै, सभाले उत्कृष्ट नतिजा प्राप्त गर्ने दलित विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि सहयोग, अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, ७० वर्ष माथिका नागरिकका लागी निःशुल्क एम्बुलेन्स सेवा, वडा स्तरमा वर्थिङ सेन्टर स्थापना, नगरपालिका क्षेत्रभरीका सबै सडकलाई बाह्रै महिना सञ्चालन हुनेगरी स्तरोन्नति, सदरमुकाम बजारमा सौर्य बत्ती जडान, नगरवासी सबैलाई एक घर एक धारा कार्यक्रममार्फत खानेपानीको व्यवस्था, निमार्णधिन ढल निकासलाई व्यवस्थापन, नगर क्षेत्रमा भएका पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालन, स्वरोजगार र आय आर्जनका लागि युवा उद्यमी प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

नगर उपप्रमुख निर्मला शेर्पाले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्दै सम्बन्धित प्रस्तावलाई कार्यान्वयन गर्नका लागि स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधानको धारा २२८ को उपधारा २ बमोजिम आर्थिक विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकलाई नगर सभाको बहुमतले पास गरेको छ ।

प्रमुख आलेले नवाैँ नगर सभाले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत नगरपालिकासँग सरोकार राख्ने सबैले नगरको दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागी नेपालको संविधान तथा संघीय, प्रदेश र स्थानीय कानूनद्वारा प्रदत्त हक अधिकारको प्रयोग गर्न तथा कानूनतः निर्देशित काम, कर्तव्य र दायित्व निर्वाह गर्न सबैमा आग्रह समेत गरे ।
 

ADVADV

सम्बन्धित खबर

Advertise