२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

जनताले नभेट्ने सरकार

ADV
२०८१ पुष २१ गते ०६:२०
जनताले नभेट्ने सरकार

दसैं मनाउने तयारी चलिरहँदा गत असोज पहिलो साता परेको अत्यधिक वर्षाबाट ठूलो संख्यामा जनधनको क्षति भयो । गृह मन्त्रालयको तथ्यांकअनुसार २२४ जनाको मृत्यु भयो भने २४ जना बेपत्ता भए । १५८ जना घाइते भए । सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, काभ्रे, धादिङ, सिन्धुली, मकवानपुरलगायत २१ जिल्लामा भएको भौतिक संरचनाको क्षति खर्बौंको आकारमा छ । कीर्तिमानी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट १ हजार ७६७ घरमा क्षति पुग्यो । सबैभन्दा बढी क्षति बाग्मती प्रदेशमा भयो । बाढीका कारण ५५ वटा पुलमा क्षति पुगेको थियो । राजधानी उपत्यकासँग जोडिने राजमार्गहरू क्षतिग्रस्त बनेका थिए । धेरै बस्तीहरूको अस्तित्व नै नामेट बन(ाउनेगरी बाढी, पहिरो आएको थियो । 

सरकारी विवरणहरू अनुसार साढे ३ खर्बको खानेपानी संरचना, झण्डै ३ अर्बको सडक, ऊर्जातर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब बढीको क्षति भएको थियो । प्रकोपबाट हुन गएको मानवीय क्षति अपूरणीय हुने नै भयो । बाँकी संरचनाको पुनर्निर्माण पनि सहज थिएन । यो तहको संकटमा सरकारले मुख्य दायित्व भनेको पीडित परिवारको जीवनरक्षा हो । घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत र यथाशीघ्र पुनस्र्थापनामा विशेष कार्यक्रम ल्याउनुपर्ने हो । तर, उद्धार कार्यबाटै चुक्न थालेको सरकार अहिले बाढी, पहिरोपीडितहरूको अवस्थाप्रति बेखबर जस्तै देखिन पुगेको छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र शीर्ष नेताहरूको बोलीमा बाढी, पहिरोपीडितको कुरा कतै सुनिँदैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर बोलेर धेरैको सम्झनामा रहेको शब्द छ– यो सरकार ढल्दैन । प्रधानमन्त्री नियुक्त भएदेखि नै ओलीले वर्तमान सत्ता गठबन्धन र आफ्नो पद सुरक्षित रहेको सन्देश बारम्बार दिइरहेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका अरू नेताहरूले पनि बारम्बार गठबन्धनकै चिन्ता गरिरहेका छन् बरू बेलाबखत पार्टीभित्र संघर्षका कुरा चर्चामा आउने गरेको छ । प्रधानमन्त्री ओलीले भर्खरै मात्र भीम रावललाई पार्टीबाट निष्कासन गरेर मुलुकको ध्यान तानेका छन् । रवि लामिछाने प्रकरण मुलुकको मुख्य चासोको विषय बनेको छ । तर, गत वर्षको जाजरकोट भूकम्पपीडित र यसपालाको बाढी, पहिरोपीडितबारे सामान्य चासोसमेत देखिँदैन । पीडितहरू अत्यधिक चिसो सहेर खुला आकाशमुनि रात बिताउन बाध्य छन् । चिसोकै कारण दीर्घरोगीहरूमा समस्या परिरहेको छ तर नेताहरूको ध्यान सत्ता सुरक्षित राख्ने र अर्को समीकरणको प्रयत्न गर्नेमा देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise