काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वले वर्तमान सरकारको प्रमुख उद्देश्यबारे भन्दै आएको प्रमुख विषय हो– संविधान संशोधन । संविधानले नै संघीय संसद्ले संविधान प्रारम्भ भएको १० वर्षपछि पुनरावलोकन गर्ने भनेको छ ।
यही विषयलाई पृष्ठभूमिमा राखेर कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउनेगरी ७ बुँदे समझदारी गरेका थिए । समझदारीको बुँदा नम्बर २ मा संविधान संशोधनको विषयबारे उल्लेख छ ।
‘...सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख छ ।
तर, यो ७ बुँदे सम्झौताअनुसार संविधान संशोधनको विषय वर्तमान सरकारले नै अगाडि बढाउने भन्नेमा संशय पैदा भएको छ । संशय व्यक्त गर्ने स्वयं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार पार्टीको बैठकमा संविधान संशोधन २०८७ सालमा हुने बताए । आइतबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले तत्काल संविधान संशोधन नहुने बताए ।
संविधान संशोधनबारे ओलीको सटीक टिप्पणी छ, ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्ने छ तर २०८७ मा मात्रै हुन्छ ।’ अर्थात्, प्रधानमन्त्री ओलीले नै २०८७ सालमा संविधान संशोधन गर्नका लागि माहोल बनाउन २०८१ असारमै ७ बुँदे सम्झौता गरेको सन्देश दिन खोजेका छन् ।
तर, प्रधानमन्त्री ओलीको टिप्पणी उपर नेपाली कांग्रेसका नेताहरूले कुनै टिप्पणी गरेका छैनन् । संविधान संशोधन गर्नेसहितका एजेन्डामा सहमत भएर सरकार बनाउने मुख्य २ दलमध्ये कांग्रेस एउटा दल हो । कांग्रेस र एमाले मिल्दा प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्छ । राष्ट्रियसभामा भने कांग्रेसले बहुमत पुर्याउन २/२ वर्षमा हुने निर्वाचनमध्ये २०८२ सालको निर्वाचनमा प्रयास गर्न सक्छ ।
अब राष्ट्रियसभामा २०८३ सालमा निर्वाचन हुन्छ । यही सम्झिएर केन्द्रीय समितिको बैठकस्थित सभाहलमा एमाले नेताहरूले अध्यक्ष ओली झुक्किएको हो कि भनेर सच्याउन खोेजेका थिए ।
एमाले नेताहरूले ‘२०८७ नभएर २०८३ साल भन्न खोजेको हो कि !’ भनेर जिज्ञासा राखेका थिए । तर, अध्यक्ष ओली अलमलिएनन् । ‘मैले २०८७ सालमै भनेको’ भनेर जबाफ फर्काए ।
अध्यक्ष ओलीले नै भनेका छन्, ‘संविधान संशोधन गर्न दुई तिहाइ जुटाउने पक्षमा छौं । तर, राष्ट्रियसभाका कारण सम्भव भइरहेको छैन । संविधान संशोधन त गर्ने नै हो तर २०८७ सालमा गर्ने हो ।’
एमालेका कतिपय नेताहरूका अनुसार २०८४ सालमा आउने चुनावी परिणाम समेतलाई अनुमान गरेर ओलीले २०८७ सालमा संविधान संशोधन हुने भनेका हुन् ।