२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाइ

shivam cement
२०८१ पुष २६ गते १२:४०
Shares
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यु-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा खेलकुदमन्त्री चौधरीले उमेरमा सानो भएपनि टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । उनले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालयहरुसँग पनि सहकार्य गर्न सकिने बताए ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइ खेल्न आग्रह गरे । यस्तै टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले प्रतियोगिताका लागि राम्रो तयारी भएको बताए । यता टोलीकी कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन् ।

यु–१९ महिला टी–२० विश्वकप मलेसियामा आयोजना हुँदै छ । प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिज, समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका रहेका छन् ।

नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।

नेपाली टोलीमा पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ रहेका छन् ।

सम्बन्धित खबर