जुम्ला : जाजरकोटको नलगाड नगरपालिका वडा नं. ४ मा विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको हो । वडा कार्यालयले सूचना जारी गर्दै नलगाड नगरपालिका ४ मा अधिकांश बालविवाह हुने गरेको बताएको छ ।
वडा कार्यालयका अनुसार आ.व. २०८०/०८१ मा मात्रै ३२ विवाहमा १६ विवाह बालविवाह भएको तथ्यांक सार्वजनिक गरेको छ भने अर्कोतर्फ बालमैत्री वडा घोषणा गर्नुपर्ने बताएको छ । यसका लागि बालविवाह शून्य भएको हुनुपर्नेछ । सो वडामा बालविवाहको दर बढ्दो क्रममा रहेकोले मिति २०८१/०९/२३ गतेको वडा बाल अधिकार समितिको निर्णय र २०८१/०९/२६ गतेको वडा समितिको निर्णय बमोजिम नलगाड नगरपालिका वडा नं. ४ मा जुनसुकै नागरिकले विवाह गर्नुपरेमा वडा कार्यालयको सिफारिस अनिवार्य लिनका लागि सूचना प्रकाशित गरिएको छ ।
त्यस्तै वडाध्यक्ष बद्रीबहादुर पन्तले उमेर नपुग्दै विवाह गर्नेको संख्या बढेपछि वडा कार्यालयले वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने अवस्था आएको बताए ।
उनका अनुसार नलगाडको ४ वडामा विवाह गर्नेेहरुका लागि सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको छ । उनले भने,‘कम उमेरमा विवाह हुँदा प्रजनन् स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।’
नेपालको पछिल्लो कानुनी प्रावधानअनुसार विवाहका लागि केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्ष पुग्नुपर्छ । उमेर नपुगी गरिने विवाह स्वतः बदर हुन्छ वा यो विवाहले कानुनी मान्यता पाउँदैन । बरु बालविवाह गर्नेलाई अधिकतम ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने ब्यवस्था छ ।