काठमाडौं : विपक्षी दलहरू मोर्चाबन्दीमा लागेका छन् । सत्ताबाहिर रहेका राजनीतिक दलहरू २ मोर्चामा एकीकृत भएर शक्ति आर्जनमा केन्द्रित हुन खोजेका छन् । विपक्षमा रहेकाहरूमध्ये ठूला दलहरू समाजवादी मोर्चामा छन् भने मधेश केन्द्रित दलहरू छुट्टै मोर्चा बनाएर अगाडि बढेका हुन् ।
समाजवादी मोर्चाको बैठक आज बुधबार बस्दै छ । यसमार्फत मोर्चाको आगामी गतिविधि तय गर्न लागिएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ बताउँछन् । ‘केही समय समाजवादी मोर्चा निष्क्रिय भयो कि भन्ने जस्तो भयो । अब गति दिनेगरी छलफल हुन्छ’, गुरुङले भने ।
मधेश केन्द्रित दलहरूको बैठक भने मंगलबार नै बस्यो । काठमाडौंमा बसेको बैठकमा विभिन्न ६ वटा दलका नेताहरू उपस्थित थिए ।
जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, तमलोपाका नेताहरू सहभागी बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्यबारे छलफल भएको छ । साझा एजेन्डा तय गरेर एजेन्डासहित मोर्चा घोषणा गर्ने तयारी छ । मोर्चा घोषणा गर्नुअघि आ–आफ्ना दलभित्र गम्भीर छलफल चलाउने समझदारी भएको नेताहरू बताउँछन् ।
जनप्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी मधेश केन्द्रित दलहरू एक ठाउँमा रहने बताउँछन् । उनले मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने तयारी रहेको बताए ।
उनी भन्छन्, ‘मधेश केन्द्रित दलहरूबीच टुटेको संवादको कडी जोड्न खोजिएको हो । हामी मोर्चाको साझा एजेन्डा तय गरेरै अगाडि बढ्छौं ।’
यो मोर्चामा नागरिक उन्मुक्ति पार्टीलाई आमन्त्रण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ ।
समाजवादी मोर्चामा भने ४ दल छन् । ४ असार २०८० मा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।
तर, पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समाजवादी मोर्चामा सक्रिय छैन । गत बिहीबार माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको भेटमा उपेन्द्र यादवलाई मोर्चामा सक्रिय बनाउने विषयमा छलफल भएको थियो । छलफलपश्चात् यादवलाई मोर्चामा सक्रिय गराउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिइएको छ ।
नेताहरूका अनुसार विपक्षी दलहरू एकै ठाउँमा केन्द्रीकृत हुने सम्भावना कम छ । यस कारण २ मोर्चामा विभाजित भएर पनि केन्द्रीकृत हुने प्रयास गरेका हुन् ताकि २ वटा मोर्चामा रहेर भए तापनि संविधान संशोधनलगायतका एजेन्डामा सहकार्य गर्न सकियोस् भन्नेमा नेताहरू छन् ।