२ माघ १९९० को शक्तिशाली र विनाशकारी भूकम्पको अनुभव गर्ने थोरै मात्र आज जीवित छन् । उक्त भूकम्पले देशको जनजीवन तहसनहस पारेको इतिहासले र भुक्तभोगीले बताउँदै आएका छन् । त्यस्ता विनाशकारी भूकम्पहरू पटकपटक गइरहेका छन् नेपालमा । नेपाल भूकम्पीय जोखिम भएको देशमा पनि पर्छ । स–साना भूकम्प त दिनहुँजसो गइरहेकै छन् तर ठूला र विनाशकारी भूकम्पका कारण देशमा पटकपटक ठूलै जनधनको क्षति हुने गरेको छ । भूकम्प प्राकृतिक विपद् हो, जसको पूर्वानुमान गर्न कठिन छ । तर, नेपाल जस्ता देशको भौगोलिक बनावट र यस देशको जमिनमुनि रहेका प्लेटहरूबारे जानकारी भइसकेको अवस्था हुँदा कुनै पनि बेला ती प्लेटहरू चलमलाउने, जुध्नेलगायतका क्रम हुन सक्ने त भूगर्भविद्हरूले भनिरहेकै छन् । र, पटकपटकका भूकम्पले त्यसलाई पुष्टि पनि गरिसकेकै छन् ।
हामीकहाँ जोखिमको अनुमान सदैव रहिरहेको छ तर जोखिमप्रतिको सजगता र पूर्वतयारी भने पाइँदैन । भूकम्पदेखि बाढी–पहिरो, हिमपात, शीतलहरसम्म हामीलाई सताइरहने विपद् हुन् । हरेक वर्ष यस्ता विपद्ले झस्काउँछन् तर हामी समयसँगै उक्त झस्काइलाई भुलिदिन्छौं । तीनै तहका सरकारहरूलाई यसबारे राम्ररी महसुस छ तर उनीहरूले वर्षाका समयमा बाढी–पहिरोबाट, हिउँदका बेला शीतलहरबाट र अन्य बेला भूकम्प जस्ता जोखिमबाट जोगिने÷जोगाउने पूर्वतयारीमा लागेका छैनन् । यसले गर्दा अचानक र अप्रत्यासित आउने भूकम्प जस्ता विपद् र पूर्वानुमानित अन्य विपद्बाट नागरिक सधैं पीडित बनिरहेका छन् ।
आज २ माघलाई भूकम्प स्मरण गर्ने दिनका रूपमा लिने गरिन्छ । नेपालमा २ माघ १९९० को विनाशकारी भूकम्पपछि पनि ५ भदौ २०४५ मा, १२ र २९ वैशाख २०७२ मा पनि त्यस्तै विनाशकारी भूकम्प गए । ती भूकम्पले ठूलै जनधनको क्षति गरे । केही समयअघि पनि जाजरकोटमा ठूलै भूकम्प गयो । त्यसको त्रास अझै कायम छ । त्यस भूकम्पबाट पीडितहरूले राहत पाउन सकेका छैनन् । उसो त २०७२ कै भूकम्पपछिको राहत र पुनर्निर्माण कार्य पूरा नभएको गुनासो कायम छ । देशमा सरकार भएको अनुभूति दिलाउने दायित्व देश चलाउनेहरूको हो । नागरिकलाई सुरक्षित र विश्वसनीय वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने दायित्व सरकारकै हो । यसर्थ, तीनै तहका सरकारहरूले विपद्अघि नै पूर्वतयारीका कार्यहरू गर्नु आवश्यक छ । अघिल्ला विपद् सम्झिएर एकछिन शोक मनाउनुको औचित्य छैन ।