सुनवल : पश्चिम नवलपरासीको सुनवलमा आयोजित प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको उपाधि जेनिथ युवा क्लबले हात पारेको छ । जेनिथ युथ क्लब, सुनवल–३, कीर्तिपुरद्वारा आयोजित प्रथम जेनिथ कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सुनवललाई २–१ गोल अन्तरले हराउँदै जेनिथले उपाधि जितेको हो ।
खेलको १३औं मिनेटमा जेनिथका आशिष श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५३औं मिनेटमा सुनवल–३ का रोजल दाहालले गोल गर्दै खेल बराबरी बनाएका थिए । तर ८०औं मिनेटमा जेनिथका अनिल खड्काले उत्कृस्ट निर्णायक गोल गर्दै टोलीलाई २–१ गोलको जितसहित उपाधि दिलाए । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका अनिल खड्का म्यान अफ द म्याच घोषित भए ।
विजेता टोली जेनिथले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोली सुनवल–३ ले ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक जेनिथ निलोका शैलेश बहादुर साही, उत्कृष्ट गोलकर्ता बिगबुद्धका पूर्ण बहादुर गुरुङ र उत्कृष्ट डिफेन्स जेनिथ निलोका कमल भट्टराई घोषित भए र उनीहरुलाई समान ४ हजार पुरस्कार प्रदान गरियो । सर्वाकृष्ट खेलाडी जेनिथ निलोका सुजित बुढाथोकीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । साथै दैनिक उत्कृष्ट (म्यान अफ द म्याच) खेलाडीलाई १ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो ।
पहिलो सेमिफाइनलमा जेनिथ निलोले बिग बुद्ध एफसीलाई १–० तथा दोस्रो सेमिफाइनल खेलमा सुनवल–३ ले सम्झना एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
पुस १७ गतेदेखि जेनिथ रंगशालामा भएको प्रतियोगितामा नवलपरासी, रुपन्देही र पाल्पा जिल्लाका १६ वटा क्लबले सहभागिता जनाएका थिए ।