२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

कतारमा गुन्जियो कन्दरा (फोटो फिचर)

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ माघ ५ गते २१:१४
कतारमा गुन्जियो कन्दरा (फोटो फिचर)

दोहा, कतार : आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठको अवसरमा ‘पहिला घरदेश अनि परदेश’को नारासहित विश्व भ्रमणमा निस्केको सांगीतिक ब्यान्ड ‘कन्दरा’ले कतारमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । शुक्रबार राति प्लानेट लन्ज एन्ड क्लबमा कन्दराले आफ्नो प्रस्तुतिमार्फत उधुमै मच्चाए ।

मध्यरातमा मञ्चमा गायक श्रेष्ठको आगमनअघि श्रोताहरूमा उनले कन्सर्टको सुरुमा कुन गीत गाउलान् भन्ने अड्कलबाजी सुरु भइसकेको थियो । यसैबीच विवेकले पहिलो गीत गुनगुनाए 'तगारोमा रुमाल राखी बाटो छेकिन उनले' । पहिलो गीतबाटै गायकलाई साथ दिएका श्रोताहरूले त्यसपछिका तिमी परी, लेककी हे माया, बिदेसिएर गइन् उनी, हङकङ पोखरा जस्ता चर्चित गीतहरूमा गुनगुनाएर साथ दिइरहे । आफ्ना हिट गीत मात्र हैन, पाका संगीतकर्मीका गीत पनि सुनायो कन्दराले । गिटार र मादलजस्ता वाद्यवादनको प्रस्तुति यी संगीतका अग्रजप्रति समर्पित थियो । किशोरदेखि पाको उमेरका दर्शक पनि ब्यान्डलाई सुन्न खचाखच थिए । गायनमा पनि कन्दराले दर्शकको राम्रो साथ पायो । 

कार्यक्रम संयोजक रोशन अर्यालले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा क्लबका सञ्चालक प्रवीण गुरुङसहित सामाजिक अभियान्ताहरुले ब्यान्डका सदस्यहरूलाई खादा सहित सम्मान व्यक्त गरेका थिए । ब्यान्डको कार्यक्रममा मनोरञ्जन लिन पुगेका केही प्रशंसकहरूले  सम्मान स्वरूप शिरफुल समेत लाइदिएका थिए ।

कन्दराको प्रस्तुतितर्फ भोकलमा विवेक र ड्रम्समा सुनिल थापा छन् । सुनिल स्थापनाकालदेखि ब्यान्डका मेरुदण्ड हुन् । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा नील घतानी छन् । ब्यान्डले हालै लाइनअपलाई पुनर्संरचना गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise