२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्ने विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ

Nada
२०८१ माघ ६ गते १०:४८
Shares
पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्ने विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ

काठमाडौँ : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

शनिबार शिवसताक्षीस्थित दोमुखा पर्यटकीय स्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारण सभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किँदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

उनले पूर्व मुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । “पूर्व मुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किँदै थिए । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।”

पूर्व मुख्यमन्त्री थापाले आफू चढेको बा १ झ ६५३ नम्बरको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । “हामी निवास फर्किँदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्‍यो ।” आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् ।

उनीहरूलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमण स्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।

कांग्रेसद्वारा निन्दा
नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि भएको आक्रमणको निन्दा गरेको छ । आइतबार बिहान विज्ञप्ति जारी गर्दै कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर