जनकपुरधाम : मधेश प्रदेशबाट २ दशकमा वैदेशिक रोजगारीका लागि १५ लाख बढी युवा–युवती विदेश गएका छन् । मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाख ७ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।
चालू आर्थिक वर्षको ५ महिनामा पर्साबाट २ हजार ८५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२८, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
५ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी धनुषाबाट युवा–युवतीहरू वैदेशिक रोजगारीमा गएका देखिन्छ । दोस्रोमा सिरहा, तेस्रोमा महोत्तरी छन् । नेपालबाट सबैभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा जाने जिल्लामा धनुषा जिल्ला विगत ५ वर्षदेखि पहिलो स्थानमा रहँदै आएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम धनुषाका संयोजक सौरभ कर्णले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्म धनुषाबाट ३ लाख ५३ हजार ५१५ जना, सिरहाबाट २ लाख ७१ हजार ६६५ जना र महोत्तरीबाट २ लाख ६५ हजार ३४३ जना वैदेशिक रोजगारीमा गएका छन् ।
त्यस्तै, सप्तरीबाट १ लाख ७८ हजार ५८६ जना, सर्लाहीबाट १ लाख ७५ हजार ६३८ जना, रौतहटबाट १ लाख ३ हजार ६१४ जना, बाराबाट ९८ हजार ८५४ जना र सबैभन्दा कम पर्साबाट ५९ हजार ८३० जनासहित कुल १५ लाख ७ हजार ४५ जना युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।
‘मित्र धनुषा’द्वारा वैदेशिक रोजगारीमा जानेलाई सहयोग दिन सामी परियोजना संचालन भइरहेको छ । मित्र धनुषाका कोषाध्यक्ष मञ्जु ठाकुर र सामीका परामर्शदाता उमेशकुमार पासवानले विदेश जाने व्यक्तिहरूलाई पासपोर्ट, भिसा, श्रम स्वीकृति, मेडिकल रिपोर्ट, बीमा, कल्याणकारी कोष, सम्झौतापत्र, अभिमुखीकरण तालिम प्रमाणपत्र, हवाई टिकटसमेत २२ प्रकारका कागजातको फोटो खिचेर आफ्नो मोबाइलमा राख्न र १/१ प्रति कागजात घरमा दिन सुझाव दिएका छन् ।