२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

सुदूरपश्चिम प्रदेशसभा : २ वर्षमा एउटा पनि कानुन बनाएन

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १६:५५
सुदूरपश्चिम प्रदेशसभा : २ वर्षमा एउटा पनि कानुन बनाएन


धनगढी : देश संघीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभा गठन भएको बुधबार ७ वर्ष पूरा भएको छ ।

पहिलो प्रदेशसभाको ५ वर्षे कार्यकालमा ६७ वटा कानुन बनेका थिए । बनेका कानुनमध्ये झण्डै १०÷१२ कानुन संशोधन भइसकेका छन् । २०७९ को निर्वाचन पछि गठन भएको दोस्रो प्रदेशसभाले भने हालसम्म कानुन बनाउन सकेको छैन । 

दोस्रो प्रदेशसभाको कार्यकाल पनि बुधवार २ वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको छ । तर यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । ‘यो २ वर्षमा प्रदेशसभाले ४ ऐन संशोधन गरेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको बजेट २ पटकको प्रयासमा ल्याइएको थियो ।’ 

पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिएको थियो । तर, २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘बिजनेस’ दिन नसक्दा कानुन बन्न नसकिरहेको सांसदहरू बताउँछन् ।

संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था हो । यसले तोकिएका विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानुन निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पारित गर्ने काम गर्छ । 

संविधान बमोजिम व्यवस्था भएको संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको शासकीय स्वरूपमध्ये प्रदेशसभा एक महत्वपूर्ण निकाय हो । बनेका कानुनमध्ये कतिपय स्थानीय तह र प्रदेशसभाको संरचनासँग सम्बन्धित र अन्य कतिपय जनताको सेवासँग सम्बन्धित छन् । बनेका कतिपय कानुनको कार्यान्वयन फितलो देखिएको गुनासो सर्वसाधारणको छ ।

सुदूरपश्चिम प्रदेशसभाले काम थालेको ७ वर्ष पूरा गरेको अवसरमा प्रदेशसभा परिसर धनगढीमा ‘प्रदेशसभा दिवस २०८१’ मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख नजिर मियाँले संघीय लोकतान्त्रिक व्यवस्थाका कारण सिंहदरबारको अधिकार गाउँमा पुगेर नागरिक लाभान्वित भइरहेको बताए । उनले प्रदेशको स्थायी राजधानी निर्माणका विषयमा ध्यान जानुपर्ने बताए ।

मुख्यमन्त्री कमलबहादुर शाहले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै थप सुदृढ बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । संघीयताको कार्यान्वयनसँग जोडिएका कतिपय प्रावधानका कारण काम गर्न केही कठिनाइ महसुस भएकाले प्रदेश सरकार जनताका समस्या समाधान गर्न प्रयासरत रहेको मुख्यमन्त्री शाहले बताए । 

७ माघ २०७४ मा आज कै दिन सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित प्रदेशसभाका सदस्यको शपथ ग्रहण गराइएकाले यसै दिनलाई प्रदेशसभा दिवसका रूपमा मनाउने गरिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise