काठमाडौंः वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका–४ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भइ ललितपुर, ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।
पक्राउ मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।