विराटनगर : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगीको आरोपमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दायर गरेको हो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेको अभियोग सरकारी वकिलको कार्यालयले लगाएको छ ।
सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको छ । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रतिवादीसँग बिहीबार बयान हुने जानकारी दिए ।
२५ पुसमा पक्राउ परेका पोखरेलले एमबिबिएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।