काठमाडौं : मलेसियाले आगामी सातादेखि अवैध रुपमा बसिरहेका आप्रवासी कामदार फर्काउन शुरु गर्ने बताएको छ । जुन ६ तारिकमा अवैध हैसियतमा रहेका ईण्डोनेशीयाली कादारहरुहरुलाई स्वदेश फर्काइने तयारी गरिएको त्यहाँका रक्षा मन्त्री ईस्माईली साव्री याकोवले बताएका छन् । मलेसियामा औद्योगिक प्रतिष्ठान तथा व्यापारिक मलहरु खुला भएपनि आगामी जुन ५ सम्म आवागमन नियन्त्रण आदेश (एमओसी)को अवधि छ ।
मलेसियाले शुरुमा फर्काउने योजना बनाएको अवैध ईण्डोनेशीयाली कामदारहरुलाई फर्काउन कोरोना भाइरस संक्रमणको परीक्षण भइरहेको बताइएको छ । अवैध हैसियतमा बसेका भएपनि संक्रमण मुक्त रहेकाहरुलाई मात्र स्वदेश पठाइने मन्त्री याकोवलाई उदृध गर्दै स्थानीय दि स्टार अनलाइनले उल्लेख गरेको छ ।
परीक्षणको कार्य समााप्त भएपछि आगामी तीन हप्ताभित्र उनीहरुलाई स्वदेश फर्काइसक्ने तयारी रहेको उनले बताएका छन् । मलेसियामा हाल २५ हजार नेपाली अवैध रुपमा बसीरहेको अनुमान छ । त्यसमध्ये २ सय ४६ जना घरफिर्ती केन्द्र भनिने मलेसियाका डिटेन्सन सेन्टरमा रहेका छन् ।
मलेसियाले अवैध हैसियतमा रही पक्राउ परेका नेपालीहरुलाई पनि जुन महिनाभित्रै फर्काउने तयारी गरेको बताइएको छ । मलेसिया गएका कामदारका सबैजसो देशमा हाल अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध रहेको छ । तर मलेसियाले सबै मुलुकले आफ्ना नागरिक सहज रुपमा फिर्ता लैजाने वातावरण बनाउने अपेक्षा गरेको मन्त्री याकोवले बताएका छन् ।
रक्षामन्त्री याकोवले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयसँगको छलफलपछि अवैध हैसियतमा रहेका आप्रवासी कामदार फर्काउने निर्णय गरिएको बताउँदै यस पटक संक्रमण नरहेका सबैजसो आप्रवासी फर्काइने बताएका छन् । गैरकानूनी हैसियतमा रहेका विदेशी कामदारलाई घर फर्काउने अभियान चलाएको मलेसियाले गत मे शुरुदेखि धरपकड गरिरहेको बताइएको छ । तर संयुक्त राष्ट्रसंघसहित स्थानीय अधिकारवादीहरूले कोरोना परीक्षण नगरी आप्रवासी कामदारहरु जथाभावी धरपकड गरेको कारण कोरोना संक्रमण फैलिएको टिप्पणी गरेका छन् । मलेसियाले पक्राउ परेका अवैध आप्रवासी कामदारहरुलाई बुकित जेल, सेमेन्हिया र सेपाङ घर फिर्ती केन्द्रमा राखेको छ ।
मलेसियामा हालसम्म ६६ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये घरफिर्ती केन्द्रमा राखिएका ३ जना संक्रमित छन् । आइतबार ५७ जना नयाँ विरामी थपिएको मलेसियामा संक्रमितको संख्या ७ हजार ८ सय १९ पुगेको छ । हालसम्म १ सय १५ को ज्यान गएको मलेसियामा विगत ९ दिनदेखि एक जनाको पनि ज्यान नगएको त्यहाँको स्वास्थ्य सेवा विभागले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies