जाजरकोट : जाजरकोट बारेकोट गाउँपालिका–७ स्याँलामा एक दर्दनाक घटना घटेको छ । बिहीबार ५ वर्षीय बालकले ३ वर्षीया बालिकाको हत्या गरेको खुलेको छ । ३ वर्षीया बालिका घर नजिकै परालले ढाकिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार मृतक बालिकाको घाँटीमा चक्कुको घाउ देखिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा बालकले उक्त हत्याको जिम्मेवारी स्वीकार गरेको र उनीहरूको बीचमा मामाभान्जीको नाता रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिएको र बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुको नाम र थप विवरण प्रहरीले गोप्य राखेको छ ।