२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

अखिल क्रान्तिकारी निर्वाचनमा १६५ जना मैदानमा

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते १६:५६
अखिल क्रान्तिकारी निर्वाचनमा १६५ जना मैदानमा

काठमाडौं  : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको ३३ सदस्यीय पदाधिकारीका लागि १६५ जना विद्यार्थी नेता चुनावी मैदानमा उत्रिएका छन् । शनिबारका लागि तय भएको अखिल क्रान्तिकारीको केन्द्रीय समितिको निर्वाचनमा ३३ पदाधिकारीका लागि १६५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको हो ।

एक अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । अनलाइन प्रणालीबाट दर्ता भएको मनोनयनअनुसार अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए । अध्यक्षका उम्मेदवारमध्ये यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिक मानिन्छन् । त्यस्तै पौडेल उपमहासचिव वर्षमान पुन र राई अर्का उपमहासचिव जनार्दन शर्मा निकटका हुन् । यसैगरी शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, थापा महासचिव देव गुरुङ निकट र बुढा उपाध्यक्ष कृष्णबहादुर महरा निकट मानिन्छन् ।

खुलासहित आरक्षणमा गरेर ९ उपाध्यक्षका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ४ खुला उपाध्यक्षका लागि १९ जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा ३ जना महिला देवकी कार्की, मुना काप्री र देउमा जैसी (दीपा)सँगै लालबहादुर पाण्डे, अटल आचार्य, समीप खरेल, तुलसीराम न्यौपाने, टंकप्रासद उपाध्याय (नवीन), विराज थापा, खेमबहादुर सिंह, मदन ढकाल, विनोद कोइराला, देवेन्द्रराज शर्मा, रजिवरमण न्यौपाने, योगेश भट्टराई, भीष्मराज चौलागाईं, समीर बुढाथोकी (मुक्ति) र रमेश आचार्य रहेका छन् ।

उपाध्यक्ष खस–आर्यतर्फ एक पदका लागि ९ जनाको उम्मेदवारी परेको छ । जसमा राजन पोखरेल, मीनराज आचार्य, सुविन चालिसे, ज्ञानु खड्का, उमेश कँडेल, महेश अधिकारी, जनकबहादुर बटाला, आशिष वास्ताकोटी र सुरजकुमार भण्डारी रहेका छन् ।

उपाध्यक्ष दलिततर्फ एक पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा चित्र सुनार, अविनाश रम्तेल, कृष्णबहादुर सुनार, पदम नेपाली र उचित दासको उम्मेदवारी परेको हो । मधेशी उपाध्यक्षतर्फ एक पदमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा शिवमकुमार साह, अभिमन्यु यादव, अभयप्रताप चौबे र सञ्जीवकुमार चौधरी रहेका छन् । उपाध्यक्ष आदिवासी जनजातितर्फ १ पदमा ३ जना मुना थापामगर, सन्दिप पुन र बुद्रोस लिम्बूको उम्मेदवारी परेको छ । उपाध्यक्ष छात्रातर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा ममता अधिकारी, पार्वती नेगी र मनिषा आचार्य रहेका छन् ।

अध्यक्षपछिको कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी परेको छ । जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानियाँ, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो छन् । हमाल महिलाबाट, महतो मधेशी समुदायबाट र रोक्का दलित समुदायबाट महासचिवमा उम्मेदवारी दिने एक्ला उम्मेदवार हुन् । जसमा हमाल यसअघि उपमहासचिव, बस्नेत र कार्की केन्द्रीय सदस्य र बाँकी सबै सचिव थिए ।

विभिन्न ९ प्रदेशतर्फबाट निर्वाचित हुने ९ पद रहेको उपमहासचिवमा ३७ जनाको उम्मेदवारी परेको छ । जसमा प्रदेश एकतर्फ २, मधेशतर्फ ४, बामगतीतर्फ ३, गण्डकीतर्फ २, लुम्बिनीतर्फ ४, कर्णालीतर्फ ४, सुदूरपश्चिमतर्फ ५, उपत्यका प्रदेशतर्फ ७, विश्वविद्यालय प्रदेशतर्फ ६ जनाको उम्मेदवारी परेको छ ।

खुला र विभिन्न आरक्षणसहित १२ सचिवका लागि ६१ जनाको उम्मेदवारी परेको छ । जसमा सचिव खुलातर्फ २६, सचिव छात्रातर्फ ८, सचिव मधेशीतर्फ ७, सचिव आदिवासी जनजातितर्फ ५, सचिव दलिततर्फ ५, सचिव खस–आर्यतर्फ ३, सचिव शहीद सन्ततितर्फ ६ र सचिव मुस्लिमतर्फ एक जनाको उम्मेदवारी परेको छ ।

अर्को कार्यकारी पद कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारु चौलागाईं, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् ।
केन्द्रीय समितिको पदाधिकारीसरहकै हैसियत रहने अनुशासन आयोगको अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । आयोगकै उपाध्यक्ष खुलातर्फ ८, उपाध्यक्ष समावेशीतर्फ २, उपाध्यक्ष छात्रातर्फ २, सचिवमा ४ जनाको उम्मेदवारी परेको छ ।

यस्तै निर्वाचन आयोगको अध्यक्षमा ४, उपाध्यक्ष खुलातर्फ ४, उपाध्यक्ष समावेशीतर्फ २, उपाध्यक्ष छात्रातर्फ २ र सचिवमा ४ जनाको उम्मेदवारी परेको छ । लेखा आयोगको अध्यक्षका लागि ३, उपाध्यक्ष खुलातर्फ ४, उपाध्यक्ष समावेशीतर्फ ३ जनाको उम्मेदवारी परेको छ ।

लेखा आयोगको उपाध्यक्ष छात्रातर्फ गायत्री सिंहको मात्रै उम्मेदवारी परेको छ । लेखा आयोगकै सचिवमा भने ५ जनाको उम्मेदवारी परेको छ ।

अखिल क्रान्तिकारीको विधानअनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवलाय सदस्य र १६२ जना केन्द्रीय सदस्य हुनेछन् । २३औं राष्ट्रिय सम्मेलनका लागि माघ १२ मा मतदान हुनेछ । पदाधिकारीमा ३३ पदका लागि निर्वाचन हुँदा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एकएक जना, उपाध्यक्ष ९, उपमहासचिव ९ र सचिव १२ जना निर्वाचित हुनेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise