
काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानन्यायाधीश शर्माले सोमबार बिहानदेखि बोलाएको फूलकोर्ट बैठक जारी रहेपछि सर्वोच्च अदालतको नियमित सुनुवाइसमेत प्रभावित भएको छ । पेसी सूची प्रकाशित भइसके पनि बैठक लम्बिएका कारण न्यायाधीशहरू इजलासमा उपस्थित भएका छैनन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार फूलकोर्ट बैठक कम्तीमा खाजा खाने समयसम्म चल्ने सम्भावना छ । बैठक सकिएपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।
प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालबीचको ह्वाट्सएप सन्देशसहित अन्य विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतभित्र त्यसबारे प्रश्न उठेको थियो । सोही विषयमा छलफल गर्न प्रधानन्यायाधीश शर्माले फूलकोर्ट बैठक आह्वान गरेका हुन् ।
यसै प्रकरणलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि प्रधानन्यायाधीश शर्माविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा छलफल भएको छ। पार्टीले यसबारे आवश्यक निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइसकेको छ ।
ह्वाट्सएप संवाद सार्वजनिक भएपछि उत्पन्न विवादले सर्वोच्च अदालतको आन्तरिक वातावरणसँगै न्यायिक कामकारबाहीमा समेत प्रभाव पारेको देखिएको छ ।