२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

भारतमा रेल दुर्घटना : मृतक नेपालीको परिवारलाई भारतले साढे ६ लाख क्षतिपूर्ति दिने

Nada
२०८१ माघ ११ गते १७:१०
Shares
भारतमा रेल दुर्घटना : मृतक नेपालीको परिवारलाई भारतले साढे ६ लाख क्षतिपूर्ति दिने


काठमाडौं : भारतको महाराष्ट्रामा भएको रेल दुर्घटनामा ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले दुर्घटनामा ७ नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका १ जना छन् ।

ncell

मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नविन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मौसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधे श्याम राध छन् ।

दुर्घटनामा ४ जना नेपाली घाइते भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनालाई जलगाउँको गोदावरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनका लागि र घाइतेहरूको शीघ्र उपचारका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई आग्रह गरेको छ ।

भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटना भएको थियो ।

बुधबार भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएका ७ नेपालीका परिवारले जनही साढे ६ लाख भारतीय रुपैयाँ (१० लाख ४० हजार रुपैयाँ) पाउने भएका छन् ।
सबै मृतकका परिवारलाई भारतको केन्द्र सरकारले जनही १ लाख ५० हजार र महाराष्ट्र सरकारले ५ लाख भारू दिने घोषणा गरेका हुन् ।

केन्द्र सरकारले ५० हजार क्यास तथा बाँकी बैंकमा जम्मा गरिदिने जनाएको छ । महाराष्ट्र सरकारले शव घरसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएको प्रवासी नेपाली संघ भारत महाराष्ट्र पश्चिम मुम्बई नगर समितिका अध्यक्ष मनीषकुमार भूमिले जानकारी दिए ।

यसैबीच कैलालीकी कमला भण्डारीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । नन्दराम विकसहित उनका परिवारको शव भारतको पुणेमा अन्तिम संस्कार गरिने छ । जयकला कामीको शव अछामको सिउँडी ल्याइने तयारी भएको जनाइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर