काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको बैठकमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।
बैठकले सरकारले ल्याएका अध्यादेशहरुमा आफ्ना फरक मत वा असहमति भए पनि संसदमा त्यसलाई व्यक्त गर्न नपाइने निर्णय गरेको छ ।
संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसदमा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए ।
बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएको घिमिरेको भनाइ छ ।
आर्थिक क्षेत्रमा देखिनेगरी सुधारका काम गर्न केही विधेयकलाई संशोधन गर्नै पर्ने बाध्यता भएको हुनाले यसलाई अध्यादेशका रुपमा ल्याइएको देउवाको भनाइ थियो ।